अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायीहरूको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो — कोषाध्यक्ष हरि बस्ताकोटी

-


     हिडन खबर    
     मंसिर २७ गते २०८२ मा प्रकाशित


लेखनाथ, २६ मंसिर। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औँ लेखनाथ महोत्सवका लागि तयारी तीव्र पारिएको छ। विसं २०६१ देखि निरन्तर सञ्चालन हुँदै आएको यस महोत्सवमार्फत स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादन हुने सामानको प्रोत्साहन, आवश्यक ज्ञान तथा उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण र स्वदेशी–विदेशी बजार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्य लिइएको संघले जनाएको छ।

संघका कोषाध्यक्ष तथा महोत्सव आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीका अनुसार हाल विषम परिस्थितिका कारण शिथिल भइरहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु नै महोत्सवको मुख्य लक्ष्य हो।
“उत्पादक तथा उपभोक्तालाई एउटै थलोमा ल्याई आर्थिक गतिविधि बढाउने, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र विभिन्न आन्दोलन तथा त्यसका कारण व्यवसायमा परेको असरपछि खस्किएको मनोबल उठाउने उद्देश्य महोत्सवले बोकेको छ,” बस्ताकोटीले बताए।

बाबजुद विषम परिस्थिति, विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीबाट महोत्सवलाई प्राप्त सहयोगले आफूहरू हौसिएका पनि उनले बताए।

संघका अध्यक्ष तथा महोत्सव संयोजक जानुका पराजुलीका अनुसार महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड बेभरेज, डेरी, सूचना तथा प्रविधि, रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाका स्टल रहनेछन्।

महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु र खाद्यान्न प्रदर्शनी/बिक्री, विद्युतीय उपकरण प्रदर्शनी/बिक्रीसमेत रहने संघले जनाएको छ। साथै सूचना प्रविधि तथा सञ्चार उपकरण, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरू पनि प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछन्।
यस्तै, फुड फेस्टिवल, अटोमोबाइल प्रदर्शनी, वित्तीय तथा सेवामूलक संस्थाका सेवा तथा जानकारीसमेत महोत्सवमा रहनेछन्।

महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम तथा साँझ पप कन्सर्ट/सुगम संगीत कार्यक्रम हुनेछ। दिउँसो लोकदोहोरी कलाकारका प्रस्तुति रहनेछन् भने साँझ लोकप्रिय व्याण्ड र कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ। महोत्सवको अवसरमा आयोजना गरिने रत्यौली प्रतियोगिता विशेष आकर्षण हुने बताइएको छ।

लेखनाथ उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा पुष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई **गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि.**ले मुख्य प्रायोजन गरेको छ।
सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौंडा डेरी, र प्रवर्द्धकमा पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड रहेका छन् भन्ने जानकारी प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले दिए।