
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औँ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । तयारीसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समूह, संघ–संस्था तथा विविध जातजाति र समुदायहरूले प्रदर्शन गर्नुपर्ने झाँकी र्यालीको पनि तयारी गरिरहेका छन् ।
हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवको उद्घाटनका दिन भव्य झाँकी र्याली निकालिँदै आएको छ । झाँकी र्यालीले महोत्सवप्रति यहाँका विभिन्न जातजाति र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने भएकाले यस वर्ष पनि विशेष उत्साह देखिएको झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठले बताए ।
उनका अनुसार, “हरेक वर्ष लेखनाथ महोत्सवमा ठूलो झाँकी र्याली निकालिन्छ । यसले विभिन्न समुदायले कति अपनत्व महसुस गरेका छन् भन्ने देखाउँछ । साथै, फरक–फरक जातजाति र समुदायलाई एउटै थलोमा ल्याएर उनीहरूको मौलिक रीतिरिवाज, रहनसहन तथा संस्कार–संस्कृतिको जगेर्ना गर्ने काम महोत्सवले गर्दै आएको छ,” संयोजक श्रेष्ठले भने ।
उनले लेखनाथ महोत्सवमा देखिने जस्तै भव्य झाँकी अन्य कुनै मेला–महोत्सवमा नपाइने दाबी गरे । विभिन्न समुदायका भेषभूषा, रीतिरिवाज झल्कने पोशाक, ब्यानर र डेमोहरू सहितको व्यापक उपस्थिति नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको उनको भनाइ छ ।
यस पटक झाँकी र्यालीलाई झनै व्यवस्थित गरिएको छ । सहभागी हुने संघ–संस्था तथा समूहलाई विगतको भन्दा बढी प्रोत्साहन प्रदान गरिएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्र नै व्यवस्थित रूपमा प्रस्तुत गर्ने योजना बनाइएको छ । साथै, झाँकी तथा र्याली दुवै तर्फ छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ ।
पुरस्कार व्यवस्था यसप्रकार छः
झाँकीतर्फ:
प्रथम : रु २०,०००
द्वितीय : रु १५,०००
तृतीय : रु १०,०००
सान्त्वना : रु ५,०००
र्यालीतर्फ:
प्रथम : रु १५,०००
द्वितीय : रु १०,०००
तृतीय : रु ५,000
सान्त्वना (१० समूह) : प्रत्ये क रु २,०००
झाँकी र्यालीमा सहभागी हुन इच्छुक समूहले मंसिर २८ गतेभित्र आफ्नो समूह दर्ता गराइसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य उत्पादन, विद्यालयस्तरीय शैक्षिक तथा वैज्ञानिक सामग्री, सूचना–प्रविधि सम्बन्धी नयाँ आयाम, नयाँ प्रतिभा खोजी अभियान, सांस्कृतिक कार्यक्रमलगायत विविध आकर्षण समावेश गरिनेछ ।
यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक/बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँदै संघका अध्यक्ष तथा महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिइन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा पौष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरी तथा प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् भन्ने जानकारी महोत्सव प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले दिए ।













