
काठमाडौँ ।
गत वर्ष बाबु–छोराको भावनात्मक सम्बन्ध प्रस्तुत गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापारिक सफलता हात पा¥यो । नेपालमै झन्डै ५० करोड रुपैयाँको ग्रस कलेक्सन गर्दै यसले कीर्तिमान कायम गर्यो। बाबुले छोराका लागि गरेको संघर्षमा आधारित कथालाई दर्शकले अत्यन्तै मन पराए।
यस्तै, यस वर्ष सार्वजनिक भएको अर्को चलचित्र ‘परान’ ले पनि अहिलेसम्मकै उच्च कमाइ गर्दै सफल भयो। यसमा पनि बाबु–छोराको सम्बन्ध र छोराहरू विदेशिन बाध्य बन्दा उत्पन्न हुने भावनात्मक कथा समेटिएको छ। समाजमा प्रखर रूपमा बाँचिरहेको यिनै पारिवारिक संवेदनशील कथाले दर्शकलाई आकर्षित गर्यो।

अब यस्तै भावनात्मक कथामाथि केन्द्रित अर्को नयाँ चलचित्र ‘मिरमिरे’ आउँदै छ। तर, यसपटक कथा बाबु र छोरी को सम्बन्धमा आधारित छ। सन्तानप्रतिको अभूतपूर्व माया, स्नेह र त्याग अहिले नेपाली फिल्म बजारमा सबैभन्दा बढी बिक्ने कथामध्ये परिरहेको अवस्था छ।
माघ १ गते रिलिज हुँदै ‘मिरमिरे’
छोरीका लागि बाबुले खेप्नुपरेको संघर्षलाई केन्द्रमा राखेर बनेको ‘मिरमिरे’ माघ १ गते रिलिज हुँदैछ। आमाले घर छोडेपछि घरमा बाबु र सानी छोरी मात्र बाँकी हुन्छन्। आफैँ केही गर्न नसक्ने त्याेस सानी छोरीको हेरचाहदेखि घरका काम, स्कुलका जिम्मेवारी र आफ्नो जागिर—सबै एक्लैले सम्हाल्नुपरेको बाबुको कथा यसमा प्रस्तुत छ।

छोरीले बाबुप्रतिको माया र बाबुले छोरीका लागि गरेको त्यागलाई यथार्थ र स्पर्शपूर्ण रूपमा देखाउन खोजिएको निर्माण टिम बताउँछ।
“हरेक बाबुआमालाई आफ्ना सन्तानप्रति अथाहा माया हुन्छ, त्यो कति देखाउने भन्ने मात्र फरक हो,” निर्देशक यम शेर्पा भन्छन्, “हाम्रो फिल्मले बाबुले छोरीका लागि गरेको त्याग र मायालाई उजागर गर्छ।” उनका अनुसार ‘मिरमिरे’ हरेक घरघरको कथा भएकाले दर्शकले आफूलाई सहजै रिलेट गर्न सक्ने अपेक्षा गरिएको छ।
कलाकार र निर्माण पक्ष
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा
दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्।
कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल हुन्।
लाइन प्रोड्युसर वीरेन्द्र शाही, मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप कलाकार सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।
वितरण
चलचित्र ‘मिरमिरे’को देशव्यापी वितरणको जिम्मेवारी आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन्।













