लेखनाथ महोत्सव सफल बनाउन आमा समूह कस्सिए

-


     हिडन खबर    
     मंसिर २२ गते २०८२ मा प्रकाशित


लेखनाथ, २० मंसिर । लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको २१ औँ लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सवलाई दृष्टिगत गर्दै यस क्षेत्रका विभिन्न सङ्घ–सङ्गठन तथा महिला/आमा समूहको शनिबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएको छ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सवहरु मध्ये एक भएको उल्लेख गरिन्। उनले महिला तथा आमा समूहको सक्रियताकै कारण महोत्सवले निरन्तर उचाइ हासिल गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस पहिचानलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिइन्।

उनका अनुसार २९ वर्षे इतिहासमा लेखनाथ उद्योग वाणिज्य सङ्घले पहिलोपटक महिला नेतृत्व पाएको छ, जसको श्रेय यहाँका महिलाहरू र आमा समूहलाई जाने बताइन्। १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानलाई स्मरण गर्दै उनले अहिले हिंसाको स्वरूप परिवर्तन भएकाले त्यसप्रति सजग रहन र सहेर नबस्न आग्रह गरिन्। महिला हिंसा अन्त्यका लागि महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा सङ्घकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका पराजुलीले महोत्सवले विविध जातजाति, भाषा तथा समुदायका मानिसलाई एकै स्थानमा ल्याई मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको बताइन्। लेखनाथको पहिचान तथा यहाँका कार्यक्रमहरू सफल हुनुमा आमा समूह तथा स्थानीय सङ्घ–सङ्गठनको सक्रियता प्रमुख रहेको उल्लेख गर्दै उनले यस वर्ष पनि महोत्सव सफल हुने विश्वास व्यक्त गरिन्।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो मौलिक पहिचान भएको बताउँदै यसलाई जोगाएर राख्ने प्रमुख संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घ र लेखनाथ महोत्सव नै भएको उल्लेख गरिन्। उनले २१ औँ संस्करणको महोत्सव सफल बनाउन एकता र समन्वयका साथ महिला दिदीबहिनीको सक्रिय सहयोग आवश्यक रहेको बताइन्।

भेलामा सहभागी महिला तथा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले झाँकी र्याली, मातृशक्ति सम्मानअन्तर्गत हुने रत्यौली प्रतियोगिता लगायतका विषयमा आफ्ना सुझाव र जिज्ञासा राखेका थिए। साथै, महोत्सवलाई पूर्ण रूपमा सफल बनाउन आजैदेखि नै तयारी सुरू गर्ने प्रतिबद्धता व्यक्त गरे।

महोत्सवकी महिला/आमा समूह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन सङ्घकी कार्यसमिति सदस्य तथा महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले गरेकी थिइन्। धन्यवाद ज्ञापन महिला उद्यमी समन्वय उप–समितिकी संयोजक शर्मिला श्रेष्ठले गरिन्।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा पौष २ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्यास कम्पनी प्रा.ली.ले मुख्य प्रायोजन गरेको छ। सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक अस्पताल), पशुपति बिस्कुट र हेटौँडा डेरी रहेका छन् भने प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका जानकारी प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले दिए।