
काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारलाई स्थान दिइए पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाललाई राखिएको देखिन्छ । पोस्टरमा उनी तीन फरक मुद्रामा देखिएकी छन्।
सबैभन्दा ठूलो आकृतिमा बेनिशाको प्रसन्न अनुहार मात्र देखिन्छ, जसले उनको जीवनप्रति रहेको आशावाद झल्काउँछ। अर्को लुकमा उनी रेलिङमा अडेस लगाएर सिगरेट हातमा लिएर उभिएकी छन्, जहाँ उनी तनावग्रस्त मुद्रामा देखिन्छन्। उनको हातका पाँचै औलामा औंठी छन्, एउटा औँलामा त दुईवटा औंठीसमेत देखिन्छ।
तेस्रो दृश्यमा उनी अभिनेता महेश त्रिपाठीसँग टेबुलमा आमनेसामने देखिएकी छन्, जसले यी दुई पात्रबीच संवाद वा द्वन्द्व भइरहेको अनुमान गर्न सकिन्छ।
पोस्टरमा बाल कलाकार ग्रिस्मा कटुवाललाई पनि समावेश गरिएको छ, जहाँ उनी आँसु झारिरहेको दृश्यमा देखिएकी छन्।
पोस्टरमा प्रयोग गरिएको निलो प्रकाश (ब्लू लाइट) ले चलचित्रको नामसँग मिल्दोजुल्दो टोन् र वातावरण सृजना गरेको छ। समग्रमा पोस्टरले आशा–निराशाबीचको वा उतार–चढावपूर्ण जीवनकथाको संकेत दिन खोजेको देखिन्छ।
चलचित्र ‘द ब्ल्यू लाइट’को निर्देशन बलिराम चौहानले गरेका हुन्, र यो उनको डेब्यू निर्देशन हो। पुस १० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
यस चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी प्रमुख भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
साइकोलोजिकल–थ्रिलर जनरामा निर्माण भइरहेको यस फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ। चलचित्रका को–प्रोड्युसर रमन ग्रे हुन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन्।
चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन्।












