गोदावरी मार्बल डाँडा : छोटो दूरी, फराकिलो यात्रा

-


     बिष्णु पौडेल निरिस    
     मंसिर १९ गते २०८२ मा प्रकाशित


जावलाखेलको बिहान हल्का चिसो थियो, तर हाम्रो मन भने अपेक्षाको तातो ऊर्जा बोकेर तताइरहेको थियो। बिहान ९:५० बजेको घडीले संकेत दियो—हाम्रो पूर्व–योजनाबद्ध हाईकिङ सुरु हुने समय भइसकेको छ। सबै साथीहरू निर्धारित समयमै भेला भयौँ, अनि यात्रा शुरु हुदाँ लाग्यो– हामी सबै एकै तालमा धड्किरहेका छौँ, एउटा साझा सपना बोकेर; छोटो यात्राबाट जीवनमा रंगिन स्मृतिका फूल फुलाउने आकांक्षा लिएर।

बसमा सँगै बसेको हाम्रो समूह सानै थियो, तर उत्साह भने निकै ठूलो। बसका सीटहरूले हाम्रो हाँसो, गीत र गजलहरू समाउन नसकेर बारम्बार प्रतिध्वनि फर्काइरहेका थिए। साथीहरूमध्ये कसैको मर्मस्पर्शी प्रस्तुति, कसैको रमाइलो शैली र बेला–बेला मिसिने चुट्किलाले यात्रालाई झनै जीवन्त बनाइरहेको थियो। हामीलाई लागिरहेको थियो—बस मात्र अघि बढिरहेको छैन, हाम्रो मित्रता पनि नयाँ उचाइतिर उडिरहेको छ।

पत्तै नभइकन हामी गोदावरी पुग्यौँ। म गोदावरी कस्तो होला भन्ने उत्सुकताले भरिएको थिएँ। बसबाट ओर्लिएपछि दायाँ–बायाँका दृश्य आँखामा कैद गर्दै गोदावरी बसपार्कबाट हाम्रो वास्तविक हाईकिङ यात्रा शुरू भयो। नागबेली बाटो, चिसो हावा, कोमल घाम, अनि साथीहरूको उमंग—सबैले मिलेर कुनै मधुर आत्मिक संगीत झैं वातावरण बनाइदिएको थियो। मार्बल डाँडातर्फ जाँदै गर्दा प्रकृतिले हामीलाई आफ्नै काखमा समाउन खोजेझैँ अनुभूति भइरहेको थियो। पहाडका चट्टानहरूले मार्बलका चम्किला सपनाजस्तै चमक फैलाइरहेका थिए—दृढ, तर स्मृतिजस्तै चिल्लो र उज्यालो।

डाँडाको नजिक जाँदा हामी थकानले होइन, उत्साहले केही समय रोकियौँ। कोही फोटो खिच्न तल्लीन, कोही दृश्यमा हराएका, कोही साथीको हाँसोमा घुलमिल। जंगलको उकाली चढ्दा पसिना बगे पनि मन भने उति नै हल्का हुँदै गइरहेको थियो—मानौँ बिहानका सबै चिन्ता उकालीमै छाडेर हामी डाँडासँगै स्वतन्त्र भइसकेका थियौँ।

मार्बल डाँडाबाट देखिने हिमाल–पहाडको दृश्यले मन अत्यन्त शान्त भयो। त्यो शान्त मनलाई साथीहरूको नाचले इन्द्रेणी रंग थपिदियो। खुला आकाशमा रमाइरहेको मन कहिले सप्तरंगी पछ्यौरीमा हराउँथ्यो, कहिले साथिले बाँडेको मिठाइ झैँ सम्बन्ध झनै गुलियो बन्दै गइरहेको महसुस हुन्थ्यो। डाँडामा अझै केही समय बिताउन मन लागिरहे पनि समय–योजनाले हामीलाई सचेत गराइरहेको थियो। यात्रामा भेटिनु, जुट्नु, फेरि छुट्नु—यही प्राकृतिक नियमलाई आत्मसात गर्दै हामी गोदावरी बजारतर्फ पाइलो बढायौँ।

जंगलभित्र पाइने जडीबुटी र वनस्पतिका बारेमा एक–अर्काले आफ्ना जानकारी बाँड्यौँ। बाटोमै पर्ने फुलचोकी भवानी मन्दिरको दर्शन पनि गरियो। वरपरका स्थान, दृश्य र विशेषताबारे जानकार हुँदै अन्ततः अर्को समूह रहेको स्थानमा समयमै पुग्यौँ।

दिउँसो गोदावरीमा खाएको खाना केवल स्वादका लागि मात्र थिएन—त्यो हाम्रो सामूहिकता, साथ र सद्भावको परिकार थियो। थकान र भोक दुवै मेटिएपछि खुशी झनै बढ्यो। फर्कने क्रममा पनि गाडी हाँसोले नै चलेको भान हुन्थ्यो। कोही नयाँ गीत गाउँदै, कोही पुराना सम्झना सुनाउँदै हामी कार्यालयतर्फ फर्किरहेका थियौँ।

१५:५० बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गेट देखिँदा त्यो केवल प्रवेशद्वार मात्र लागेन—यो त हाम्रो यात्राको समापनसँगै नयाँ ऊर्जा, नयाँ प्रेरणा सुरु हुने द्वारझैँ लाग्यो। एक–अर्कालाई हेरेर सबै मुस्कुरायौँ—त्यो दिन साँच्चिकै हाम्रो जीवनको एउटा अमूल्य पाना बन्न पुगेको थियो।

साथीहरूको जिस्काइ, प्रकृतिको सुमधुर संगीत, उकाली–ओरालीका संवेदनशील तरङ्ग—यी सबै मिलेर मार्बल डाँडाको त्यो छोटो यात्रा साधारण हिँडाइ रहेन। त्यो बन्यो—
ज्ञानको अक्षर, अनुभवको पुस्तकालय, मित्रताको स्मारक, मनको मन्दिर र भावनाको बगैँचा।

बिष्णु पौडेल निरिस
PCMD 7th Group, NASC