
पोखरा । मानवसेवा आश्रम पोखराद्वारा आयोजित १४औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबारदेखि सुरु भएको छ। पोखरा–२५ हेमजा स्थित आश्रम परिसरमा आयोजित महायज्ञको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा गलेश्वर धामका स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा गर्नुभयो।
महायज्ञको पहिलो दिनमै श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति देखियो। उद्घाटनकै दिन दाताहरूले खुलेर सहयोग गर्दा ८ लाख १९ हजार ८८ रुपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ।
दानदातामध्ये पोखरा–२ विन्ध्यवासिनीका भिमराज रेग्मी र लक्ष्मी रेग्मी दम्पत्तिले मुक्तिनाथ धर्मशाला निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गर्दै प्रमुख दाताको रूपमा उभिएका छन्। साथै, घलेल आमा समूहले २५ हजार रुपैयाँ, लालीगुँरास पुन मगर आमा समूहले १९ हजार ५ रुपैयाँ, नमुना आमा समूहले १६ हजार ८७५ रुपैयाँ, धम्पुस पोखरी टोलले १० हजार रुपैयाँ, धौलागिरी युवा क्लबले ५ हजार ५ सय रुपैयाँ र खिमादेवी अर्मजा पुनले ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन्।
महायज्ञबाट संकलित रकम आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण, साथै अक्षयकोष सुदृढीकरणमा खर्च गरिनेछ।
महायज्ञ बैशाख २६ गतेसम्म आश्रम परिसरमा सञ्चालन हुनेछ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त तथा सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र पुनःस्थापनामा निरन्तर सेवा प्रदान गर्दै आएको छ।
















