
लेखनाथ, ८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना हुने २१औँ लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेको छ।
स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाका अनुसार पहिलो चरणमा संघका सदस्यहरूलाई लक्षित गर्दै मंसिर ८ गतेबाट स्टल बुकिङ खुला गरिएको हो। अन्य व्यवसायीका लागि दोस्रो चरणमा मंसिर १५ गतेदेखि बुकिङ खुला गरिने जानकारी उनले दिए।
महोत्सव यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिँदैछ। महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइने तथा ‘मेड इन नेपाल’ अन्तर्गत स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि छुट्टै स्टल व्यवस्था गरिने संयोजक थापाले बताए।
यस वर्षको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला उद्योग/व्यवसाय, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य वस्तु, विद्यालयस्तरका शैक्षिक तथा विज्ञान सामग्री, सूचना–सञ्चार प्रविधिका नवप्रवर्तन आदिसहित विभिन्न स्टल तथा कार्यक्रम समावेश गरिएको छ।
संघकी अध्यक्ष तथा महोत्सव संयोजक जानुका पराजुली अधिकारीका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य–कला–संस्कृतिको जगेर्ना तथा आन्तरिक/बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुर्याउनेछ।
२०६१ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको लेखनाथ महोत्सवले हालको चुनौतीपूर्ण अवस्थामा शिथिल बनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्दै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई आर्थिक क्रियाकलापमा गतिशीलता ल्याउने उद्देश्य राखेको प्रचार–प्रसार समितिका संयोजक ध्रुवबाबु भट्टराईले बताए। उनका अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याउनेछ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुन लागेको २१औँ महोत्सवको मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि. रहेको छ।
त्यस्तै सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक अस्पताल, पशुपति बिस्कुट, हेटौडा डेरी) तथा प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए।












