स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा अभिनेत्री नम्रता श्रेष्ठ

-


     हिडन खबर    
     मंसिर १ गते २०८२ मा प्रकाशित


काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको क्याफे अनुभव नेपालमै पुर्‍याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटी उद्घाटन गरेका हुन्।

टक्सार ग्रुप अफ कम्पनीले सञ्चालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा तथा उच्च गुणस्तरका कफी र विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा अभिनेत्री नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरिएको थियो। कम्पनीले ब्रान्डप्रति ग्राहकको विश्वास र पहिचान मजबुत बनाउन नम्रताको छविले ठूलो योगदान दिने विश्वास व्यक्त गरेको छ।

समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक सन्देश भएको बताए। उनका अनुसार स्टारबोस कफी हाउसले अन्य व्यवसायीलाई समेत नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्नेछ।

उद्घाटनमा सहभागी पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने आवश्यकता औंल्याए। उनले उक्त आन्दोलनले नेपालमा ठूलो परिवर्तन ल्याउँदै नयाँ व्यवसायिक वातावरण निर्माण गरेको उल्लेख गरे।

सो अवसरमा टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले विभिन्न चुनौतीबीच पनि स्टारबोस कफी सञ्चालनमा ल्याउन सफल भएको बताए। उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणको साथ स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य समूहले राखेको उनले स्पष्ट पारे।

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सेवा प्रदान गर्ने उद्देश्यसहित स्टारबोस कफीले विशेषज्ञहरू समावेश भएको बलियो टिम तयार पारेको छ। युवालाई रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहन गर्नका लागि पनि यो परियोजना महत्वपूर्ण हुने विश्वास समूहले व्यक्त गरेको छ।

दरबारमार्गको पहिलो आउटलेट सञ्चालनपछि स्टारबोस कफीले तनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ। यस्तै, आगामी दिनमा नेपालका प्रमुख शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।

स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी परियोजना हो। टीजी भेन्चर्स स्वयं टक्सार ग्रुप अफ कम्पनीजको एक प्रमुख व्यापारिक इकाइ हो, जसले विभिन्न क्षेत्रमा सक्रियता जनाएको छ। कफी व्यवसायमार्फत टक्सार ग्रुपले नेपालको हस्पिटालिटी तथा क्याफे उद्योगमा औपचारिक प्रवेश गरिसकेको छ।

कार्यक्रममा टक्सार ग्रुप अफ कम्पनीका सह-संस्थापक तथा फ्रेन्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एमडी पूर्ण श्रेष्ठ, महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।