मिरमिरे’का दुई पोस्टर सार्वजनिक

-


     हिडन खबर    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित


दयाहाङ–प्रकाशको पहिलो सहकार्य, माघ १ गते रिलिज हुने

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’का दुईवटा पोस्टर सार्वजनिक भएका छन्।

पहिलो पोस्टरमा दयाहाङ राई र बाल–कलाकार शाइसा गौचन फिचर्ड छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा उनीहरू बाउ–छोरीको रूपमा देखिएका छन्। तनावग्रस्त मुद्रामा प्रस्तुत दुवै पात्र कसैको पर्खाइ वा वियोगमा रहेको संकेत गर्छन्। पोस्टरले दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको भाव झल्काउँछ।

दोस्रो पोस्टरमा प्रकाश सपूत विद्यार्थीको भेषमा र सिर्जना निङ्लेखु शिक्षिकाको भेषमा देखिएका छन्। सिर्जनाको मन्द मुस्कान र प्रकाशको मजाको हाँसोले उनीहरूबीचको सम्बन्धलाई रोचक बनाएको छ। शिक्षक–विद्यार्थी मात्र हुन् वा प्रेमी–प्रेमिका नै भन्ने विषयमा निर्माणपक्षले खुलासा गरेको छैन।

‘मिरमिरे’ माघ १ गते रिलिज हुँदैछ। यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत छन्। बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पाले दयाहाङसँग दोस्रोपटक काम गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

चलचित्रको कथा पनि निर्देशक यम स्वयंले लेखेका हुन्। छायांकन आलोक शुक्लाले गरेका छन्। निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।

लाइन प्रोड्युसरमा वीरेन्द्र शाही, मुख्य सहायक निर्देशकमा सुदिप कुँवर, मेकअपमा सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रकमा दिलीप पन्त रहेका छन्। चलचित्रको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।