
भवन निर्माण र अक्षयकोष वृद्धिका लागि उत्साहजनक सहयोग
बागलुङ । मानवसेवा आश्रमप्रति श्रद्धा राख्ने भक्तजन तथा अभिभावकहरूको आग्रहअनुसार बागलुङको निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबारसम्म सञ्चालन हुने भएको छ।
बुधबार मात्र महायज्ञमा १ करोड ५४ लाख ३४ हजार १ सय १४ रुपैयाँ संकलन भएको आश्रमले जनाएको छ।
कथा वाचन कार्यक्रम कार्तिक २८ गते सकिने तय भए पनि मूल आयोजक समितिसँगको सल्लाहपछि अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू कार्तिक २९ गते शनिबारसम्म निरन्तर हुने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो।
शनिबार सार्वजनिक बिदा हुने भएकाले भक्तजन तथा शुभेच्छुकहरूको आग्रहअनुसार महायज्ञ अवधि एक दिन थपिएको हो।
शनिबार भजन–कीर्तन, सम्मानपत्र वितरण, योग शिविर सञ्चालन, साथै विद्यार्थीबीच संस्कार कक्षा जस्ता कार्यक्रमहरू हुने जनाइएको छ।
मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण तथा अक्षयकोष वृद्धिका लागि सञ्चालन गरिएको महायज्ञमा बागलुङसहित देश–विदेशमा रहेका नेपालीहरूले उत्साहपूर्वक सहयोग र सहभागिता जनाइरहेका छन्।













