
बागलुङ ।
मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग प्राप्त गर्ने क्रम निरन्तर जारी छ। आश्रमकाे भवन निर्माण उद्देश्यले सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञले जिल्लामा सामाजिक एकता र सहयोगको वातावरण सृजना गरिरहेको छ।
यसै क्रममा, बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमकाे एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ। वडा कार्यालयले भवनकाे एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमार विक्रम क्षेत्रीले उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो।
वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग कार्यलाई निरन्तरता दिँदै आएको छ र मानवसेवा आश्रमको भवन निर्माणमा हातेमालो गरेको हो। आश्रमले वडा कार्यालयको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको जनाएको छ।
मानवसेवा आश्रमले सडकआश्रित, असहाय तथा अपाङ्ग व्यक्तिहरूको पुनर्स्थापनामा निरन्तर काम गर्दै आएको छ। आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास आश्रमले व्यक्त गरेको छ।
आश्रमले वडा अध्यक्ष कुमार विक्रम क्षेत्री सहित सम्पूर्ण वडा कार्यालय परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै, मानवता प्रवर्द्धनमा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।









