
प्रतिष्ठान बागलुङ जिल्लाको निमन्त्रणामा अधिवेशनमा पूर्व अध्यक्षको हैसियतले सहभागी हुन निस्कँदै गर्दा घरमा रोचक क्षण सृजना भयो। ठूली छोरीले भनिन् — “बाबा, पर्स राख्नुभयो?” मैले भनेँ — “राखेँ।” अनि झोला लैजान बिर्सनुभयो! ल्यापटप लैजान पर्दैन? मैले भनेँ — “पर्दैन छोरी, यसपलि यतिकै जाने हो।”
सधैंझैँ झोला बोकेर गस्तीमा हिँड्ने सैनिकजस्तै देखिने बाबुलाई झोला बिना देख्दा छोरीलाई अचम्म लाग्नु स्वाभाविक थियो। म पनि अलमलमा परेँ। यसपलि झोला बिसाएर हिँडेको थिएँ। जीवनका उर्जाशील समय यस संस्थाप्रति समर्पित भएकाले विभिन्न माध्यमबाट यसको राम्रा पक्षमा प्रशंसा र त्रुटिहरूमा खबरदारी भइरहेकै छ।
मेरो यो कार्यकाल कार्यकारी भूमिकामा नभए पनि संस्थाका हरेक गतिविधिमा चासो, चिन्ता र भूमिकाअनुसारको सहयोग रहिरहेकै छ। कतिपय निर्णय यति आत्मीय लाग्छन् कि आफ्नै प्रस्ताव अनुमोदन भएको अनुभूति हुन्छ। आज देशैभरि प्रतिष्ठानमय वातावरण छ। सबै जिल्लाका अधिवेशनहरू आफ्नो क्षमता अनुसार सम्पन्न भइरहेका छन्। केही मुर्छित सपनाहरू जागृत भएको अनुभूति मलाई पनि भएको छ।
तत्कालीन प्रदेश समितिमा चर्चा भए पनि निर्णय र कार्यान्वयनमा हामी आट गर्न सकेनौं। नेता र नेतृत्व फरक पक्ष हुन्। नेता हुन संघर्ष र ऊर्जा चाहिन्छ भने नेतृत्व गर्न अझ बढी चाहिन्छ। नेता केवल अगुवाइ मात्र होइन, सृजनात्मक र समयानुकूल हुन जरुरी छ। टिमभित्रका भन्दा बाहिरका मानिसहरूको मन जित्न सक्नु नेतृत्वको मूल आधार हो।
आदरणीय अध्यक्ष रिता थापा ज्युको नेतृत्वमा रहेको केन्द्रीय समितिको निर्णय ऐतिहासिक र सम्झनालायक हुनेछ। संस्थामा हुनु वा नहुनु फरक विषय हो। भिड वा प्रपञ्चले मात्र निर्णय गर्दैन। समय सधैं एउटै हुँदैन, जुन आज देशमा हामीले भोगिरहेका छौं। आफू हुँदा मात्र ठीक, नभए सबै बेठीक भन्ने सोच गलत हो। राम्रालाई राम्रो भन्न सक्नुपर्छ।
हाम्रो वरिपरि परिवर्तनको आवाज र राष्ट्रिय परिस्थिति हेर्दा, हामीजस्ता गैरनाफामूलक संस्थाहरू सृजनात्मक र मितव्ययी हुनु नै सुन्दर देखिन्छ। असल प्रतिष्ठानकर्मी यस्तैबेला जन्मिन्छन्, जसले आफ्नो भूगोलप्रति जवाफदेही बन्नेछन्। काठमाडौं केन्द्रीय कार्यालय वरिपरि मात्र घुम्ने होइन, भिडमा जाल बिछ्याउने दाउ कुरेर बस्ने होइन। सबैखाले क्षमताहरू संस्थामा जरुरी छन्। तर अनावश्यक घटाउने र आवश्यक अटाउने गरी विधि निर्माण गर्नुपर्छ।
नेतृत्व विकेन्द्रीकृत हुनेछ। कर्कलाको पातजस्तो होइन, सतिशील नेतृत्व स्थापित हुनेछ। अझै जुजारु, कलाप्रेमी र सृजनशील नेतृत्व जन्माउन आजका जिल्ला अधिवेशनहरू सफल रहून् भन्ने शुभकामना।
पूर्ण परियार
निवर्तमान वरिष्ठ उपाध्यक्ष
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, गण्डकी प्रदेश समिति










