देउराली चोक आमा समूहबाट मानवसेवा आश्रमलाई आर्थिक सहयोग

-


     हिडन खबर    
     कार्तिक १६ गते २०८२ मा प्रकाशित


बागलुङ नगरपालिका अन्तर्गत देउराली चोक आमा समूहले मानवसेवा आश्रम बागलुङलाई भवन निर्माणका लागि नगद रु १,००,५५५ सहयोग गरेको छ। २०८२ सालको तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट उक्त सहयोग गरिएको समूहकी कोषाध्यक्ष रुपा थापाले जानकारी दिइन्।

समूहकी अध्यक्ष सरीता थापामगर, उपाध्यक्ष गौरी रोकामगर, सचिव खगीसरा थापामगर, सहसचिव हरिकला थापामगर, कोषाध्यक्ष रुपा थापामगर लगायत सदस्यहरूले उक्त रकम आश्रमकी अभिभावक लक्ष्मी बास्कोटा र सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरेका थिए।

सहयोग ग्रहण गर्दै अभिभावक बास्कोटाले मानवताको स्मारक निर्माणका लागि महायज्ञको आयोजना गरिएको बताउँदै भवन निर्माणपछि दुई सयभन्दा बढी आश्रितलाई राख्न सकिने जानकारी दिइन्। हाल आश्रममा ६६ जना विभिन्न उमेर समूहका व्यक्ति आश्रित छन्।

समूहले सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। विगत केही वर्षदेखि नौमती बाजा बजाउँदै आएको यस समूहले बागलुङ बजारमा हुने कार्यक्रमहरूमा स्थानीय बाजा उपलब्ध गराएर सदरमुकाम बाहिरबाट बाजा समूह बोलाउने बाध्यता हटाएको छ।