गुहेंली सञ्चार सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न

-


     हिडन खबर    
     भाद्र १७ गते २०८२ मा प्रकाशित


बागलुङ, १७ भदौ

गुहेंली सञ्चार सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापा मगरले समाजमा हार्दिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सहकारीमा देखिएको अपारदर्शिता र अनियमितता विरुद्ध कडा कारबाहीको आवश्यकता औंल्याउनुभयो। उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने र परम्परागत जीवनशैलीको संरक्षणमा जोड दिनुभयो।

सभामा विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य राखे। सचिव सूर्य बहादुर थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष टिकाराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो, जुन सर्वसम्मत रूपमा पारित भयो।

गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरू रामकुमारी थापा क्षेत्री, दलबहादुर सार्की र बाल बचतकर्ता सदिक्षा कार्कीलाई सम्मान गरियो। कला गौरी स्मृति कोषबाट पत्रकार प्रकाश बराललाई पत्रकारिता पुरस्कार प्रदान गरियो भने ज्येष्ठ शेयर सदस्य भक्तबहादुर रसाइलीलाई पनि सम्मान गरियो।

संस्थापक सदस्यहरू तथा एकीकरण भएका सहकारीका प्रतिनिधिहरूलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो। सहकारीले २०८१/८२ मा ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको जानकारी दिइयो।

हाल सहकारीमा ९११ जना शेयर सदस्य छन्। मुख्य कार्यालय भीमापोखरामा रहेको सहकारीले बागलुङ बजारमा सेवा केन्द्र सञ्चालन गर्दै जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाइन सञ्चालित गर्दै आएको छ।