चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते प्रदर्शन हुने

-


     हिडन खबर    
     भाद्र १४ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै सो मितिमा चलचित्र रिलिज हुने घोषणा गरेको हो।

कैलाश पर्वतमा भगवान शिव र उनका वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो। पोस्टरमा जटाधारी शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेका छन् भने साँढेको निधारमा त्रिशूल देखिन्छ। यसको अर्थ र चलचित्रसँगको सम्बन्धबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी दिएको छैन।

पोखरा आसपासका क्षेत्रहरूमा छायांकन गरिएको ‘शिवांश’ अहिले पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने यस चलचित्रका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको पहिलो निर्देशकीय प्रयास हो। चलचित्रका निर्माता अञ्जान केसी हुन्।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाले मुख्य भूमिका निर्वाह गरेका छन्। साथै विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

चलचित्रको कथा निर्माता अञ्जान केसीले स्वयं लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूले तयार गरेका हुन्। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारतीले योगदान दिएका छन्।

सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन्। कार्यकारी निर्माता सम्भू थापा हुन्।

सरद महतोले छायांकन (डीओपी) गरेका छन्। विप्लव प्रतीक र राजनराज शिवाकोटीले गीत लेखेका छन्। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको रहेको छ। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको छ।

द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी विक्रम चोहानले गरेका छन्। भीएफएक्स निर्देशक तथा सुपरभाइजर विराज खड्का हुन्। भीएफएक्स निर्माता आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुन्।

मुख्य सहायक निर्देशक बारत लिम्बू हुन्। आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, कस्ट्युम डिजाइनर कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू, पोस्टर फोटोग्राफर युवाहाङ राई रहेका छन्।

पोस्ट–प्रोडक्सनको काम चलचित्र चौतारीले गरिरहेको छ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।