सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

-


     हिड्न खबरदाता     
     भाद्र १३ गते २०८२ मा प्रकाशित


काठमाडौं, १३ भदौ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा वैदेशिक लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७–१८ मा धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा मन्त्री राणाले उक्त आग्रह गर्नुभएको हो।

बैठकमा नेपालस्थित विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा मन्त्री राणाले सुदूरपश्चिम प्रदेशलाई नेपालकै समृद्धिको प्रवेशद्वारको रूपमा चित्रण गर्दै जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि, डिजिटल पूर्वाधार, खानी तथा प्राकृतिक स्रोतमा आधारित उद्योगहरूमा लगानीको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश प्रकृतिको अनुपम सुन्दरता, जैविक विविधता, सांस्कृतिक सम्पदा र स्रोतसाधनले भरिपूर्ण छ। तर, यो क्षेत्र अझै पनि ‘बत्तिमुनिको अँध्यारो’को अवस्थामा छ। त्यसैले यी सम्भावनाहरूलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्दै लगानीकर्तालाई आकर्षित गर्न सम्मेलनको आयोजना हुनु स्वागतयोग्य कदम हो।”

मन्त्री राणाले विगत तीन दशकअघिको सुदूरपश्चिमको अवस्थालाई स्मरण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा पुल तथा सडक निर्माणले क्षेत्रलाई काठमाडौँसहित देशका अन्य भागसँग जोडिएको उल्लेख गर्नुभयो।

उहाँले वर्तमान सरकारलाई दिगो र स्थायित्वयुक्त बताउँदै विकासका सम्भावनाहरू उजागर गर्न कानुनी सुधारसहित लगानीमैत्री वातावरण निर्माण भइरहेको जानकारी दिनुभयो। साथै, संघीयता कार्यान्वयनसँगै सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारको मुख ताक्ने होइन, आफ्नै सम्भावनाको पहिचान गरी विकासका मोडलहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो।