
काठमाडौं — सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो प्रदर्शन हप्तामा प्रवेश गरेको छ। आम नेपाली मध्यम वर्गले भोग्ने आर्थिक संघर्ष र पारिवारिक सम्बन्धको कथालाई उठान गरेको यस चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
निर्देशक हिमाल न्यौपानेले चलचित्रले राम्रो “वर्ड अफ माउथ” पाएको बताउँदै दोस्रो हप्तामा अझ राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो। चलचित्र हेरेर भावुक भएर रोइरहेका दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायत कलाकारको अभिनय रहेको छ। निर्देशक न्यौपानेसँगै मनिष राउत असोसिएट निर्देशकको रूपमा छन्।
पेपरक्लिप ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ। कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन्।
गोविन्द शाहीको काफिया फिल्म्सले चलचित्र वितरण गरेको हो।









