
२८ अगस्ट, लिस्वन
नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा आगामी सेप्टेम्बर १४ र १५ तारिखमा लिस्वन, पोर्तुगलमा प्रशिक्षणात्मक भेला तथा एनपीपीएफ पोर्तुगलको आठौं अधिवेशन सम्पन्न हुने भएको छ।
कार्यक्रमको पहिलो दिन अधिवेशन हुनेछ भने दोस्रो दिन प्रशिक्षणात्मक भेला तथा बैठक आयोजना गरिनेछ।
नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिव राम कार्की ‘पार्थ’ प्रमुख अतिथि रहनेछन्। पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य ओनसरी घर्ती मगरको विशेष उपस्थिति रहनेछ।
भेलामा युरोपका विभिन्न देशहरूका साथै युके र अमेरिकाबाट अगुवा माओवादी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
एनपीपीएफ युरोपका अध्यक्ष चित्र सुवेदीले कार्यक्रमलाई भव्य बनाउन व्यवस्थापनको तयारी थालिएको जानकारी दिए।
उनले भने, “जनप्रगतिशील मञ्चमा आबद्ध विभिन्न देशबाट साथीहरू लिस्वनमा भेला हुँदैछन्। प्रशिक्षण र बैठकका साथै आगामी दिनमा संगठन निर्माणका लागि ठोस योजना बनाएर अघि बढ्नेछौं।” हाल युरोपका झण्डै १९ देशमा एनपीपीएफका संगठनहरू क्रियाशील छन्।
भेलामा राम कार्की ‘पार्थ’ र ओनसरी घर्ती मगरले प्रशिक्षण दिनेछन्। बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, माल्टा, क्रोएसिया, जर्मनी, युके, अमेरिका लगायतका देशबाट जनप्रगतिशील मञ्चका नेताहरू लिस्वनमा उपस्थित हुने जनाइएको छ।
त्यसैगरी, एनपीपीएफ पोर्तुगलको आठौं अधिवेशन पनि सोही अवसरमा सम्पन्न हुनेछ।
संयोजक नारायण शर्माले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न तयारी भइरहेको जानकारी दिए।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।












