
काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा सहभागी अधिकांश दर्शकको मन जित्न सफल भएको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र हेर्न पुगेका धेरैजसो दर्शक भावुक बनेका थिए।
प्रिमियरमा वरिष्ठ कलाकार शुनिल थापा, छायाँकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट लेखक प्रदीप भारद्धाज लगायत चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति थियो।

उपस्थित कलाकार तथा दर्शकहरू चलचित्रको कथासँग भावनात्मक रूपमा जोडिएको देखिन्थ्यो। चलचित्र हेरेपछि धेरै दर्शक भावुक बनेका थिए, कतिपयले त आँसु थाम्नसमेत सकेनन्। अभिनेत्री केकी अधिकारी र गायिका अञ्जु पन्त चलचित्र हेर्दै गर्दा रोइरहेको दृश्यले दर्शकको मन छोएको थियो।

चलचित्रले बुवा–आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा मार्मिक ढंगले प्रस्तुत गरेको छ। यसले दर्शकलाई आफ्नै परिवारको सम्झना दिलाउँदै आँसु झार्न बाध्य बनाएको प्रतिक्रिया धेरैले दिएका छन्। हलबाट बाहिरिँदा धेरैजना आँसु पुछ्दै निस्किएको दृश्य देखिएको थियो।

बुवा–आमाले छोराछोरीका लागि गर्ने त्याग र छोराछोरीले बुवाआमाप्रति निभाउनुपर्ने जिम्मेवारीको कथा चलचित्रमा उजागर गरिएको छ। यसले परिबन्धमा परेका पात्रहरूको उजाड जीवनलाई दर्शाउँदै सम्बन्धको महत्व र पारिवारिक मूल्यबोधलाई प्रभावशाली ढंगले चित्रण गरेको छ।

भोलिदेखि प्रदर्शनमा आउने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा केकी अधिकारी, विजय बराल, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आएको यो वर्षको पहिलो चलचित्र हो।

पेपरक्लिपको ब्यानरमा निर्माण गरिएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफर रहेका छन्।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेका छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा संलग्न छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।


चलचित्रको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।









