
काठमाडौं ।
भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले यु (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिबाट सबै वर्गका दर्शकका लागि उपयुक्त ठहर गर्दै फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो।
फिल्मको नाम र ट्रेलरले दर्शकमा कथावस्तु प्रतिको चासो अझै बढाएको छ। “जनै कसरी हराउँछ?”, “कसको जनै हराउँछ?” भन्ने प्रश्नले दर्शकलाई हलसम्म तान्न खोजिएको देखिन्छ। निर्माण पक्षले कथावस्तु खुलाएका छैनन्। जनैको विषयले कथामा महत्वपूर्ण मोड लिन्छ भन्ने अनुमान गरिएको छ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, भावना खपांगी मगर, रुपेश लामा, रियर राई, सुमन थापा लगायतको अभिनय छ। मुख्य भूमिकामा विजय बराल छन् भने उनका साथीको भूमिकामा सुशांक मैनाली देखिनेछन्। यद्यपि जनै कसको हराउँछ भन्नेबारे निर्माण टिमले हालसम्म कुनै जानकारी दिएको छैन।
आर्य र मंगोलियन अनुहारका पात्रहरू रहेको यस फिल्ममा तिनीहरूबीचको सम्बन्धबारे पनि खुलाइएको छैन। कथाले सम्बन्धका धागाहरू कसरी गाँसिन्छन् भन्ने रहस्य फिल्म हेरेपछि मात्र खुल्नेछ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माताहरूमा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। डीओपी नवीन गुरुङ र सिनेमेटोग्राफर कृष्ण परियार हुन्। संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले काम गरेका छन्।
मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत हुन् भने सहायक निर्देशकमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।
‘पूर्णबहादुरको सारंगी’जस्ता ब्लकबस्टर चलचित्रमा अभिनय गरिसकेका विजय बराल यसपटक ‘जनै हराएको मान्छे’मार्फत पुनः मुख्य भूमिकामा देखिन लागेका हुन्। चलचित्रको कुल रनटाइम २ घण्टा २३ मिनेट तोकिएको छ।













