‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — नाम परिवर्तनको कथा

-


     हिडन खबर    
     भाद्र ३ गते २०८२ मा प्रकाशित


काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सुरुमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ नामले सार्वजनिक गरिएको थियो। तर निर्माण पक्षले केही समयअघि नाम परिवर्तन गर्दै ‘बाहुन’को सट्टा ‘मान्छे’ शब्द प्रयोग गरेको छ।

निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही संस्था तथा व्यक्तिहरूबाट अनावश्यक चासो र दबाब आउन थालेपछि नाम परिवर्तन गरिएको हो। यद्यपि, निर्देशक हिमाल न्यौपानेले चलचित्र धार्मिक नभई सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पारेका छन्।

उनले भने, “हाम्रो सिनेमा धार्मिक होइन, सामाजिक कथा हो। विषयसँग जोडिएर ‘जनै’ शब्द आएको मात्र हो। तर हामी सिर्जनात्मक काम गर्ने मान्छे भएकाले अनावश्यक विवादमा फस्न चाहेनौं। त्यसैले नाम परिवर्तन गर्यौं।”

न्यौपानेले चाहेको भए पुरानै नाम राखेर चलचित्र बनाउन सकिने बताउँछन्। उनका अनुसार सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न पाउने अधिकार हुन्छ, र कसैले पनि कुनै विषयमा सिनेमा बनाउन रोक्न सक्दैन। उनले सर्जकको स्वतन्त्रतामा हस्तक्षेप भइरहेको भन्दै सरकारलाई चनाखो हुन आग्रह गरेका छन्।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते प्रदर्शनमा आउँदैछ। यसमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ। नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफर हुन्।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत हुन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

चलचित्रको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।

‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टरपछि विजय बरालको मुख्य भूमिकामा आउने यो वर्षको पहिलो चलचित्र हो।