
गीत–संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्न लागिपरेकी प्रतिभाशाली गायिका सरिता सुनारको आवाजमा रहेको तीज लक्षित गीत “मलाई लाहुरेले लैन केरे” हाल टिकटकमा अत्यधिक रुचाइएको छ।
दिउँसो रात नभनी दोहोरी क्षेत्रमा सक्रिय सरिता टिकटकमार्फत पनि उत्तिकै लोकप्रिय बन्न सफल भएकी छन्। उनका अधिकांश गीतहरू टिकटक प्रयोगकर्तामाझ चर्चा कमाउन सफल भएका छन्।
सरल स्वभावकी गायिका सरिताको आवाजलाई लिएर चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरीले खुलेर प्रशंसा गर्दै यसपटक उनलाई साथ दिएका छन्। गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र सरिता सुनारको एकल स्वर रहेको छ।
गीतले लाहुरेप्रेमको कथा बोकेको छ—मन पराएकाे लाहुरेले आफूलाई नलगेपछि विकल्पविहीन बनेकी युवतीको मनोदशा यस गीतमार्फत व्यक्त गरिएको छ।
गीतको म्युजिक भिडियोमा विनोद भण्डारी, सुजनी सिंह खड्का र श्याम पटेलको प्रमुख अभिनय रहेको छ। भिडियोको निर्देशन स्वयं विनोद भण्डारीले गरेका छन् भने, छायांकन प्रशान्त मगर र सम्पादन मनोज कार्कीले गरेका हुन्।
उक्त म्युजिक भिडियो ‘विनोद भण्डारी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।









