“पैसा फल्ने बुटो” मा बाल कलाकार आरुषि कार्कीको दमदार नृत्य

-


     हिडन खबर    
     श्रावण २२ गते २०८२ मा प्रकाशित


काठमाडौं — दैनिक जीवनयापनसमेत कठिन बन्दै गएका कारण धेरै नेपाली युवाहरू विदेशिन बाध्य भएका छन्। नेपालमै केही गर्न सकिँदैन भन्ने सोच बढ्दै गएको छ।

जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको पूर्ति गर्न नसक्नुको मुख्य कारण हो—पैसाको अभाव। यही अभावले व्यक्ति र परिवारलाई तहसनहस बनाइरहेको छ।

पैसाकै कारण देशका धेरै युवा विदेशिएका छन् भने कतिपय ऋणको भारमा परेर डिप्रेसनको सिकार बनेका छन्। बढ्दो महँगी र अवसरको अभावका बीच गीतमार्फत यिनै यथार्थ उजागर गर्न खोजेका छन् गायक नरेश खातीले।

‘पैसा फल्ने बुटो’ बोलको गीतमार्फत खातीले अहिले देखिएको आर्थिक संकटलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्। गीतमा उनी आफैं ‘पैसा फल्ने बुटो देखाइदेऊ’ भन्दै वर्तमानको पीडा अभिव्यक्त गर्छन्।

प्रसिद्ध गायिका रचना रिमाल र गायक नरेश खातीको स्वर रहेको गीतमा शब्द र संगीत पनि खातीकै छ।

गीतको म्युजिक भिडियोमा नरेश खातीसँगै उज्वल गिरी, सञ्जना गुरुङ, रचना न्यौपाने लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। विशेषगरी बाल कलाकार आरुषि कार्की, युनिस घिमिरे र सुजन रसाइलीको दमदार नृत्य भिडियोको आकर्षण बनेको छ।

भिडियोलाई जेरी भण्डारीले निर्देशन गरेका हुन् भने छायांकन करण चैसिर र सम्पादन विकास धमलाले गरेका छन्। म्युजिक भिडियो गायक नरेश खातीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।