
तीजको चहलपहल बढ्दै जाँदा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसै क्रममा बागलुङ, बलेवाका गायक शिवजी परियारको स्वर, शब्द र संगीतमा तयार गरिएको तीजगीत ‘सिरिरी बतासै चल्यो मायालु’ सार्वजनिक भएको छ।
हिन्दू नारीहरूले पतिको दीर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने तीज पर्वमा चेलीबेटी माइत फर्कने, दर खाने, गीत गाउने र नाचगान गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। नेपाली नारीहरूको भावना, पीडा र संवेदनाहरूलाई गीतमार्फत् अभिव्यक्त गर्ने यो पर्व सामाजिक सन्देश दिनेसमेत महत्वपूर्ण अवसर मानिन्छ।
गायक परियारले पछिल्लो समय तीजको नाममा अश्लीलता र विकृति बढ्दै गएको अवस्थामा मौलिकता, शुद्धता र सांस्कृतिक मर्यादा कायम राख्दै तीज गीत तयार पारिएको जानकारी दिएका छन्। यस गीतमार्फत् उनले तीज पर्वलाई प्रेम, श्रद्धा र संस्कारसँग जोड्ने प्रयास गरेका छन्।
‘सिरिरी बतासै चल्यो मायालु’ गीतमा शिवजी परियारसँगै गायिका निरू सुवेदीको स्वर समावेश छ। भिडियोमा कैलाश कठायत, आस्था न्यौपाने, शिवजी परियार र निरू सुवेदीको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ।
गीतको निर्देशन निशान वानियाँले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दीपक बिष्टले गरेका छन्। गीत “Niru Subedi Official” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।












