
बागलुङ, साउन १५
विश्व युवा दिवसको अवसरमा बागलुङमा दौड प्रतियोगिता आयोजना हुने भएको छ। लायन्स क्लब अफ बागलुङ कालिगण्डकी र लियो क्लब अफ बागलुङ कालिगण्डकीको संयुक्त आयोजनामा साउन २७ गते प्रतियोगिता सञ्चालन गरिनेछ।
बागलुङ कालिका भगवती मन्दिरदेखि कुडुलेस्थित सालिग्राम सङ्ग्रहालयसम्म करिब १० किलोमिटर दूरीमा प्रतियोगिता हुने क्लबका अध्यक्ष लखन थापाले जानकारी दिनुभयो।
स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै युवालाई प्रेरित गर्ने र बागलुङको पर्यटन तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक विनोद कार्कीले बताउनुभयो।
सबैका लागि खुला प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई ५ हजार, तेस्रोलाई ३ हजार, चौथो र पाँचौं हुनेलाई क्रमशः २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने लियो क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष टिकाजित बहादुर पुनले जानकारी दिनुभयो।
क्लबले गत वर्ष पनि यस्तै प्रतियोगिता आयोजना गरेको थियो।









