
काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक भएको छ । म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा गायिका आस्थाकै स्वर सुन्न सकिन्छ ।
डान्सिङ जनरामा तयार गरिएको यस गीतले ‘खुसी र सुखी भएर बाँच्नुपर्छ’ भन्ने सकारात्मक सन्देश दिन्छ । गीतले जीवनलाई हाँस्दै, गाउँदै र नाच्दै रमाइलो साथ बिताउन प्रेरणा दिन्छ । मनका रहरलाई साँचेर मात्र राख्नुभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ । साथै, साथी–संगीसँग हाँसीखुशी बोल्न र जीवनलाई खुसीपूर्वक बिताउन गीतले आह्वान गर्छ ।
जीवनमा सुख र दुःख दुवै अविभाज्य सत्य हुन् भन्ने दृष्टिकोण गीतमा झल्किन्छ । दुःख भुलेर अगाडि बढ्न र उमेरले नभई सोचले खुशी हुने कुरा गीतले उजागर गर्छ ।
गीतको भिडियोमा नृत्याङ्गना आस्मा विश्वकर्माले बोल्ड प्रस्तुतिमा नृत्य गरेकी छन् । ठूलो संख्यामा कोरस कलाकारहरू समेटिएको भिडियो आकर्षक र स्तरीय देखिन्छ । भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने कोरियोग्राफी रोशन बिकले गरेका छन् ।
“गीतजस्तै भिडियो पनि निकै राम्रो बनेको छ । हामीले गीत र भिडियो निर्माणमा कुनै सम्झौता गरेका छैनौं,” गायिका आस्था राउत भन्छिन्, “यो सदाबहार गीत हो, तर तीजको अवसरमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने खालको छ ।”
उनका अनुसार, गीतले महिलालाई खुला रूपमा जिउन र सुखी बन्ने सन्देश दिन्छ ।
video link : https://youtu.be/4UPotX8AaIY?list=RD4UPotX8AaIY









