दिपेन्द्र के. खनालको निर्देशनमा ‘क्याप्टेन साब’को छायांकन सुरु

-


     हिडन खबर    
     श्रावण ११ गते २०८२ मा प्रकाशित


काठमाडौं, साउन १० — निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘क्याप्टेन साब’ को छायांकन आज (शनिबार) काभ्रेपलाञ्चोकको बेथानचोक–ढुंखर्क क्षेत्रबाट सुरु भएको छ।

यसअघि असार २६ गते काठमाडौंको गौरीघाटमा शुभमुहूर्त गरिएको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा समेत गरिनेछ। चलचित्रका छायाकार कृष्णबहादुर थापा हुन्।

‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो। पेशाले पाइलटसमेत रहेका रामेश्वर थापा सफल व्यवसायी र सञ्चार उद्यमी पनि हुन्। चलचित्रमा उनका जीवनका विभिन्न उतारचढावहरूलाई समेटिने निर्देशक खनालले जानकारी दिएका छन्।

यार्सा स्टुडियो, रिच इन्टरटेन्मेन्ट र पटकथा प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।

यसअघि चलचित्र ‘धनपति’ मा पनि खगेन्द्र र सुरक्षासँग सहकार्य गरिसकेका निर्देशक खनालले ‘क्याप्टेन साब’ मा भने पहिलोपटक यी दुईसँगै सञ्जोग रसाइलीलाई पनि एकसाथ मुख्य भूमिकामा प्रस्तुत गरेका छन्। खगेन्द्र र दीपेन्द्रबीच भने नियमित सहकार्य हुँदै आएको छ।

चलचित्रका निर्माता निर्देशक खनाल स्वयं, करण श्रेष्ठ र सृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित छिन्।

सौगात बस्नेत मुख्य सहायक निर्देशकको भूमिकामा छन्। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन्। प्रोडक्सन डिजाइनमा एकी थेक्पा, तथा प्रोडक्सन म्यानेजरमा रोहित राज गौतम र विष्णु बुढाथोकी रहेका छन्।

निर्देशक खनालका अनुसार ‘क्याप्टेन साब’ क्याप्टेन थापाको संस्मरणात्मक पुस्तक ‘इन्टु द फायर’ (बारुदमाथि उड्दा) मा आधारित भए पनि कथालाई सिनेम्याटिक लिबर्टीका साथ मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिनेछ।