
काठमाडौं । आउँदो श्रावण १६ गते धरान रंगशालामा ‘त्रिगुट म्युजिकल नाइट’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम हश क्रिएशन्स, दृश्य: सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युके को संयुक्त आयोजनामा हुने आयोजकहरूले जनाएका छन्।
दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्ते ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। यस्तै, भ्वाइस अफ नेपाल का लोकप्रिय गायक सार्थक लामा र प्रमेश राई पनि मञ्चमा प्रस्तुत हुने छन्।
धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस, र दि एलाइज को पनि उत्साहजनक प्रस्तुति रहने आयोजकहरूले जनाएका छन्। विभिन्न पुस्ताका कलाकारहरूको उपस्थिति रहने भएकाले कार्यक्रम थप आकर्षक हुने विश्वास गरिएको छ।
कार्यक्रमका आयोजक आकाश रावल ले ‘त्रिगुट म्युजिकल नाइट’ अघिल्ला कन्सर्टहरूभन्दा फरक हुने दाबी गरे। उनका अनुसार, भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ भने सुरक्षा तथा व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको छ।
धरानको संगीत क्षेत्रका लागि विशेष मानिएको यस कार्यक्रममा स्थानीयसहित आसपासका शहरहरूबाट समेत दर्शकहरू आउने अपेक्षा गरिएको छ। आयोजकहरूका अनुसार ‘त्रिगुट म्युजिकल नाइट’ संगीतप्रेमीहरूका लागि एक अविस्मरणीय अनुभव बन्नेछ।










