गुन्यु चोलो : द ड्रेस’को गीतले दर्शकको मन जित्यो

-


     हिडन खबर    
     श्रावण ९ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ ले दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। युट्युबमा सार्वजनिक गीतमा अभिनेता नाजिर हुसेनको नृत्य र अभिनयको व्यापक प्रशंसा भइरहेको छ।

तेस्रोलिंगी महिलाको भूमिकामा देखिएका नाजिरको कला र क्षमताले दर्शकहरूलाई चकित बनाएको छ। दर्शकहरूले उनलाई पूर्ण बहादुरको सारङ्गीजस्तै क्षमता देखाउने फिल्म आवश्यक रहेको उल्लेख गरेका छन्।

विजय थापा लेख्छन्, “नाजिर तिमी एक बहुमुखी अभिनेता हौ, विवादबाट बच्दै उत्कृष्ट पात्रमा काम गर।” अर्का दर्शक रिसभ आले भन्छन्, “मैले दोस्रो पटक हेरेर मात्र नाजिरलाई चिनेँ। उनको अभिनयलाई सलाम।”

गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर मनिषा पोखरेलको रहेको छ। चलचित्र भदौ १३ गते रिलिज हुँदैछ। समुन्द्र भट्ट निर्देशित यो चलचित्रले लैंगिक अल्पसंख्यक ट्रान्सवुमनको कथा बोकेको छ।

नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि प्रमुख भूमिका निभाएका छन्।

चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य विदेशमा सम्पन्न गरिएको छ। ग्ल्याडिएटर–२ की गायिका लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड म्युजिक रहेको यो फिल्म नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो।

video link : https://youtu.be/IPgoeDJ_-lg?list=RDIPgoeDJ_-lg