जनै हराएको मान्छे’को टिजरलाई दर्शकको सकारात्मक प्रतिक्रिया

-


     हिडन खबर    
     श्रावण २ गते २०८२ मा प्रकाशित


काठमाडौं — आगामी भदौ ६ गते प्रदर्शन हुने चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*को टिजरले छोटो समयमा उल्लेखनीय लोकप्रियता कमाएको छ। युट्युबमा सार्वजनिक गरिएको टिजर १२ लाखभन्दा बढीले हेरेका छन् भने प्रतिक्रिया सकारात्मक छन्।

दर्शकहरूले सामाजिक कथावस्तु र सशक्त अभिनयको प्रशंसा गर्दै चलचित्रप्रति उत्साह व्यक्त गरेका छन्। कबिन्द्र श्रेष्ठ नामक दर्शकले युट्युबमा लेखेका छन्, “फिल्म असाध्यै राम्रो कथामा आधारित छ भन्ने पूर्ण विश्वास लागेको छ। शुभकामना।” अर्का दर्शक मोहित सिरपाइलीले सामाजिक कथालाई सफलताको सूत्र बताए।

विजय बरालको अभिनय र चलचित्रमा कोरियामा रोजगारीका लागि जाने युवाको कथा उठान गरिएको विषयवस्तुले विशेष ध्यान खिचेको छ। निर्देशक हिमाल न्यौपानेले दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको र विषयवस्तु तथा पात्र छनोटप्रति दर्शक सन्तुष्ट देखिएको बताए।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ। चलचित्रका सह–निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्।

कमल र विमल न्यौपाने निर्मातामा रहेको यो चलचित्र पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो। कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि शिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

भानुभक्त ढकालद्वारा लेखिएको कथा, पटकथा र संवादमा आधारित चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ। नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफर रहेका छन्।

चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ। ‘पूर्णबहादुरको सारंगी’बाट राष्ट्रिय अवार्ड जितेका विजय बरालको मुख्य भूमिकामा यो वर्षको पहिलो चलचित्र हो।

Teaser Link: https://www.youtube.com/watch?v=kzawoRpag7k