
काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले सोमबार एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरेको हो।
गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर मनिषा पोखरेलको रहेको छ। गीतमा प्रेमिल भावना बोकेको व्यक्तिले आफूलाई पनि सच्चा माया गरिनुपर्ने माग गरिएको छ। मनबाट प्रेम गर्ने हो भने दुःख–सुखमा साथ दिइ प्रमाणित गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ।
गीतको भिडियोमा नाजिर हुसेनको विशेष प्रस्तुति देख्न सकिन्छ। महिलाको भेषमा रहेका उनले दमदार नृत्य र अभिनय गरेका छन्। गेस्चर र पोस्चरमा उनले विशेष ध्यान दिएका छन्। भिडियोमा कलाकार सुशील सिटौलाको समेत उपस्थिति छ।
कार्यक्रममा निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ। ‘गुन्यु चालो : द ड्रेस’ आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउनेछ।
समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुन्यु चालो : द ड्रेस’ लैंगिक तथा पारालैंगिक समुदायको कथा आधारित छ। फिल्ममा नाजिर हुसेनले ट्रान्सवुमन (पारालैंगिक महिला)को भूमिका निर्वाह गरेका छन्। उनीसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्।
नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा आधारित यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरिसकेको छ। फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सन कार्य विदेशमै सम्पन्न गरिएको छ। एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन तथा ब्याकग्राउन्ड म्युजिकको काम हलिउड शैलीमा गरिएको हो।
फिल्ममा हलिउड गायिका लिजा जेरार्डले स्वर दिएकी छन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका छन्। लिजाले यसअघि ग्ल्याडिएटर–२ मा समेत स्वर दिएकी थिइन्।
‘गुन्यु चालो : द ड्रेस’ नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा निर्माण भएको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी रहेको छ भने कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन्। अनुपम श्रेष्ठ सह–निर्माताको रूपमा संलग्न छन्।
आलोक शुक्लाले छायांकन गरेको यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा समेत छनोट भइसकेको छ।















