अविरल वर्षाले कालुङखोला हाईड्रोपावर बगायो, दर्जनौं घर जोखिममा

-


     हिड्न खबरदाता    
     असार २५ गते २०८२ मा प्रकाशित


बागलुङ, असार २५
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९, पैयुथन्थाप बिजुवा क्षेत्रमा अबिरल वर्षाका कारण ठूलो क्षति भएको छ। मिति २०८२ असार २५ गते परेको लगातारको वर्षाले १२ किलोवाट क्षमताको कालुङखोला हाईड्रोपावरको पावरहाउस बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी टोलीले गरेको स्थलगत अनुगमनमा सोही स्थानमा रहेका तीनवटा झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएको, स्थानीय टेकबहादुर थापाको एक गोरु बगेको तथा करिब ५०० मुरी धान फल्ने खेत पुरिएको पाइएको छ। साथै, ८ देखि १० वटा घरहरू उच्च जोखिममा परेका छन्।

जोखिममा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको र थप जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले बताए ।