ढोरपाटन र निसिखोलामा दिगो पर्यटन प्रवर्द्धन परियोजनाको समिक्षा सम्पन्न

-


     हिड्न खबरदाता     
     असार २५ गते २०८२ मा प्रकाशित


बागलुङ — जर्मन सरकारको सहयोग र विवाईसी बागलुङको साझेदारीमा सञ्चालित “दिगो पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकामा भएका गतिविधिहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव विक्रम शर्माले गर्नु भएको थियो भने परियोजनाको समग्र प्रस्तुतिकरण संयोजक उत्तम अर्यालले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न सरोकारवालाहरू—गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, ढोरपाटन शिकार आरक्षका रेन्जर पदमबहादुर रोकाय, सोलो ट्रेकर तथा डकुमेन्ट्री निर्माता सिर्जना ओली, स्थानिय होमस्टे सञ्चालकहरू लगायत ३९ जनाको सहभागिता रहेको थियो।

परियोजनाबाट सञ्चालनमा आएका होमस्टे, होटल व्यवस्थापन, कफी बेकरी, महिला तथा बाल क्लबहरू, सहकारी, राडिपाखी उद्योग, सीप विकास तालिम, सूचना संकलन केन्द्रजस्ता कार्यक्रमले स्वरोजगार सिर्जना र आर्थिक वृद्धिमा टेवा पुर्याएको जानकारी दिइयो।

ढोरपाटन क्षेत्र छुट्टै गाउँपालिका हुनुपर्ने सुझाव

जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले ढोरपाटन क्षेत्र शिक्षा, स्वास्थ्य, यातायात जस्ता पूर्वाधारबाट वञ्चित रहँदै आएको उल्लेख गर्दै, यहाँका बासिन्दाले नयाँ गाउँपालिका माग गर्नु जायज रहेको बताए।

सोलो ट्रेकर सिर्जना ओलीको भनाइ

सिर्जना ओलीले ढोरपाटनलाई नाम्चे बजार जस्तै ‘बेसक्याम्प’ बनाउन सकिने सम्भावना औंल्याउँदै, मौलिकता जोगाएर सेवा सुविधाको विस्तार गर्न सुझाव दिइन्। उनले पर्यटकलाई दीगो रूपमा आकर्षित गर्न पुष्प बगैंचा, पार्क, सांस्कृतिक अनुसन्धान केन्द्र, साइक्लिङ र पदमार्ग विकास गर्न सकिने बताइन्।

पर्यटनमैत्री व्यवहारमा जोड

उनीले होटल व्यवसाय, सवारी सेवा, गाइडहरू र स्थानीय युवाहरूलाई पर्यटन सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा राखिन्। पर्यटकसँगको व्यवहारमै पर्यटनको भविष्य निर्भर हुने उनको भनाइ थियो।

परियोजना सामग्री हस्तान्तरण

कार्यक्रमको अन्त्यमा गोठस्टे सञ्चालक सन्देश पुनलाई पर्यटक बस्न मिल्ने फ्रेम टेन्ट, शौचालय टेन्टसहित करिब १ लाख ९८ हजार बराबरको सामग्री अध्यक्ष गौतमले हस्तान्तरण गरे।