
Oplus_131072
काठमाडौं, असार — अभिनेता एवं मोडल निराजन प्रधान पुनः रंगीन पर्दामा फर्किएका छन्। तर, यसपटक उनी अभिनय होइन, निर्देशनमार्फत दर्शकमाझ आएका छन्।
फोटो कथा शृंखलाअन्तर्गत निर्माण भएको ‘माया बस्यो’ बोलको गीतमार्फत प्रधानले आफ्नो निर्देशन यात्रा सुरु गरेका हुन्। सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोलाई निराजनले निर्देशन गरेका छन्।
भिडियोमा अभिनेत्री केकी अधिकारी र नवअभिनेता राघव दाहालको जोडीलाई प्रेमिल दृश्यमा प्रस्तुत गरिएको छ। अनुहार हेर्दै प्रेम बस्ने दृश्यबाट सुरु हुने गीतमा गहिरो मायाको कथा प्रस्तुत गरिएको छ। गीतमा पात्रहरू एकअर्काको बानी र स्वभावको प्रशंसा गर्दै जीवन समर्पण गर्ने प्रण गर्छन्।
गीतका रचनाकार सरगम घतान हुन्। संगीत र एरेन्ज योगेश काजी शाहले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन्।
भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने ड्रोन शट सुरेश काफ्लेले खिचेका छन्। सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठको रहेको छ भने कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन्।
नेपाली म्युजिक भिडियो क्षेत्रमा लामो समय सक्रिय रहँदै लोकप्रियता कमाएका प्रधानले केही नेपाली चलचित्रहरूमा पनि अभिनय गरिसकेका छन्। अहिले निर्देशकको भूमिकामा उत्रिएपछि उनले भने, “निर्देशनमा हात हाल्ने सोच पहिले नै थियो। अहिले आएर त्यो अवसर मिल्यो। दर्शकले अभिनयमा दिएको माया जस्तै निर्देशनमा पनि विश्वास र साथ पाउने आशा राखेको छु।”
भिडियो सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्यमा निर्माण गरिएको हो। यसको निर्मात्री सनुस्का दाहाल रहेकी छन्।



Video Link : https://www.youtube.com/watch?v=983UZ7QXXJw












