चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु, दयाहाङ र प्रकाश पहिलोपटक एकै साथ

-


     हिड्न खबरदाता     
     असार १७ गते २०८२ मा प्रकाशित


काठमाडौं — दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ को वर्कसप सुरु भएको छ । निर्देशक यम शेर्पाका अनुसार आइतबारदेखि फिल्मका प्रमुख कलाकारहरूको सहभागितामा वर्कसप थालिएको हो ।

“सुटिङ सहज होस्, कलाकारबीचको तालमेल र कथासँगको आत्मीयता बढोस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले बताए, “यसले छायांकन छिटो सक्न पनि सहयोग गर्नेछ ।”

कान्तिपुर फिल्म एकेडेमी मा वर्कसप भइरहेकाले चलचित्र ‘मिरमिरे’ को छायांकन यही शुक्रबारदेखि सुरु हुने भएको छ । अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा गरिनेछ ।

प्रकाश सपूत र दयाहाङ राईले यस चलचित्रमार्फत पहिलोपटक सहकार्य गर्दै छन् । निर्देशक यम शेर्पा भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि शेर्पाको पहिलो निर्देशन ‘कार्साङ’ मा पनि दयाहाङले अभिनय गरेका थिए ।

यार्सा फिल्म्स को प्रस्तुतिमा बन्ने चलचित्र ‘मिरमिरे’ मा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु र माओत्से गुरुङको पनि अभिनय रहनेछ । चलचित्रको कथा तथा निर्देशन स्वयं यम शेर्पाले गरेका हुन् । यद्यपि, उनले कथाको विषयवस्तु खुलाउन चाहेका छैनन् ।

चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन् ।

कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल हुन् । चलचित्र ‘मिरमिरे’ २०८२ सालमा प्रदर्शन हुने तय भएको छ भने यसको सटिक प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रको वितरण कार्य आरआर फिल्म्स ले गर्नेछ ।