युरोप टुर २०२५ को सुरुवात फिनल्यान्डबाट, रमेशराज भट्टराई र भूमिका गिरी एकै मञ्चमा

-


     हिडन खबर    
     असार १४ गते २०८२ मा प्रकाशित


“बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई” गीतबाट चर्चित गायक रमेशराज भट्टराई र “चोली मैलै भो” की गायिका भूमिका गिरीले युरोप टुर २०२५ को सुरुवात फिनल्यान्डबाट गर्ने भएका छन्।

चौतारी इभेन्ट्स फिनल्यान्डको आयोजनामा हुन लागेको यो सांगीतिक कार्यक्रम जुलाई ५, शनिबारका दिन हेलसिन्कीस्थित Malmin työväentalo मा हुनेछ।

रमेशराज भट्टराई नेपाली आधुनिक र लोकदोहोरी गीतका लोकप्रिय गायक हुन्। बहुला शैलीका गीतहरूका कारण उनी ‘बहुला गायक’ भनेर पनि चिनिन्छन्। बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबईजस्ता देशहरूमा प्रस्तुति दिइसकेका भट्टराईको यो पहिलो युरोप टुर हो।

उनका चर्चित गीतहरूमा “आज पनि पापी सहरमा बबाल भो”, “तिमी लास्टै राम्री छौ”, “होलीमा अरे होलीमा मेरो दिल बस्यो” लगायत रहेका छन्। गायिका भूमिका गिरी पनि पछिल्ला वर्षहरूमा दर्शकको मन जित्दै उदाउँदै गरेकी गायिका हुन्।

आयोजकका अनुसार फिनल्यान्डपछि यो टुर पोर्चुगल, स्पेन, बेल्जियम, चेक गणराज्य लगायतका युरोपेली देशहरूमा हुने छ। अन्य देशका कार्यक्रमको मिति भने चाँडै सार्वजनिक गरिने बताइएको छ।

चौतारी इभेन्ट्सका विष्णु अर्यालका अनुसार, “यो टुरले युरोपमा रहेका नेपाली समुदायलाई नेपाली गीत–संगीत र संस्कृतिसँग अझ नजिक बनाउने विश्वास लिएको छ।”

कार्यक्रममा प्रवेश शुल्क प्रति व्यक्ति १५ युरो तोकिएको छ भने १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश हुनेछ। साथै, कार्यक्रममा नेपाली खाना स्टल पनि रहनेछ। टिकट Edenred, ePassi, Smartum र MobilePay मार्फत खरिद गर्न सकिनेछ।