चलचित्र विधेयक पुनरवलोकनका लागि सरोकारवालासँग छलफल : अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     असार १३ गते २०८२ मा प्रकाशित


काठमाडौं १३ असार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ को पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नुभएको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला सहभागी थिए।

अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयको रूपमा लिएर राज्यले गम्भीरताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले खेल र चलचित्र क्षेत्रजस्ता विषयमा राजनीतिक नेतृत्वले कम ध्यान दिएको उल्लेख गर्दै आफू भने सधैं यस क्षेत्रको विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो।

“प्रधानमन्त्री भएपछि म निरन्तर खेलकुद र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान केन्द्रीत गरिनुपर्छ भन्ने धारणा राख्दै आएको छु,” अध्यक्ष प्रचण्डको भनाइ थियो।

उहाँले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम होइन, समाज रूपान्तरणको सशक्त साधनको रूपमा पनि लिनुपर्ने धारणा राख्नुभयो। “कतिपय चलचित्रहरूले समाजमा सोच र धारणा नै परिवर्तन गरेका छन्। चलचित्र कालजयी हुन्छन्, सामाजिक घटनाक्रम चलचित्रमा जीवन्त रूपमा प्रस्तुत हुनु आवश्यक छ,” उहाँले भन्नुभयो।

चलचित्र विधेयक सम्बन्धी सुझावहरूलाई समेट्नुपर्ने आवश्यकतामाथि जोड दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “चलचित्र क्षेत्रसँग सम्बद्ध सबैको सुझाव ग्रहण गर्नुपर्छ। यसले विधेयकलाई अझ सशक्त बनाउँछ।”

शिक्षा विधेयकबारे पनि कुरा गर्दै उहाँले संविधानको भावना अनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो। “हामी देश र जनतालाई अगाडि लैजाने पक्षमा छौं, तर केही तत्वहरू त्यसको विरोधमा छन्,” भन्दै उहाँले हाल पाइपलाइनमा रहेका विधेयकहरूप्रति सहमतिको वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्त्यमा, अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजमुखी बनाउन सबै सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक संशोधनमा सहयोग गर्ने विश्वास दिलाउनुभयो।