मनोवैज्ञानिक थ्रिलर ‘द ब्ल्यू लाइट’को छायांकन सम्पन्न

-


     हिडन खबर    
     असार १३ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार १३ —

मनोवैज्ञानिक थ्रिलर शैलीमा निर्माण गरिएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को छायांकन सम्पन्न भएको छ। जेठ २२ गतेदेखि काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा सुरु भएको छायांकन २५ कार्यदिवसमा सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्र स्काइफल पिक्चर्सको प्रस्तुति हो। चौहान यसअघि बहुचर्चित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका थिए। ‘द ब्ल्यू लाइट’ उनको निर्देशनमा बनेको पहिलो चलचित्र (डेब्यु) हो।

चलचित्रमा प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठसुरक्षा इटानी रहेका छन्। बाल कलाकारको रुपमा ग्रिसमा कटुवालसहारा शर्मा देखिने छन्।

यसअघि सार्वजनिक गरिएका थिम पोस्टर र फस्ट लुक पोस्टरले चलचित्रको मनोवैज्ञानिक र रहस्यमय पृष्ठभूमिको झलक दिइसकेका छन्। थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणमा एक बालिका उभिएको दृश्य छ, जहाँ बालिकाको कम्मरदेखि माथिसम्मको भाग, झ्यालझ्याले कपाल र विचित्र मुद्राले चलचित्रको गहिरो सन्देश संकेत गर्छ।

छायांकनको क्रममा सार्वजनिक गरिएको अर्को पोस्टरमा अभिनेत्री बेनिशा हमाललाई बारमा, औंलामा चुरोट च्यापेर तनावपूर्ण मुद्रामा देखाइएको छ।

निर्देशन पक्षले कलाकारका भूमिकाहरू र कथावस्तु हाललाई गोप्य राखेको छ। निर्देशक चौहानका अनुसार, “हामीले जे बनाउने लक्ष्य राखेका थियौं, त्यसमा सफल भएका छौं। अब पोस्ट-प्रोडक्सनको काम अगाडि बढ्नेछ। कलाकारहरूले कथालाई जीवन्त बनाएका छन्, हामी निकै उत्साहित छौं। दर्शकलाई राम्रो सिनेमा देखाउनेछौं।”

चलचित्रका को–प्रोड्युसर रमन ग्रे हुन् भने कार्यकारी निर्माताका रूपमा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्। चलचित्रको छायांकन मैनालीले नै गरेका हुन्।

आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकको भूमिकामा छन्। निर्देशक चौहानले चलचित्र सन् २०२५ भित्रै प्रदर्शनमा ल्याउने जानकारी दिएका छन्।