एक महिनाको पैदल यात्रा पश्चात काठमाडौं आइपुगे नवराज बोहोराः वातावरण संरक्षण र सुशासनकाे पक्षमा खबरदारी

-


     हिडन खबर    
     असार ९ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार ९
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सुर्खेतबाट काठमाडौंसम्म एक महिनासम्मको लामो पैदल यात्रा गरी आइपुगेका नवराज बोहोराले वातावरण संरक्षण, कर्णाली क्षेत्रको समग्र विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा आफू लागिपरेको जानकारी दिनुभएको छ।

बोहोराले पैदल यात्रामार्फत कर्णाली प्रदेशमा बढ्दो वातावरणीय समस्या, विकासको असमानता, सरकारी निकायमा देखिएको अकर्मण्यता र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनचेतना फैलाउने उद्देश्य राख्नुभएको बताइएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको नीतिसँग मेल खाने बताउनुभयो। उहाँले आफ्नो नेतृत्वमा रहँदा कर्णालीको समृद्धिका लागि सरकारले थालेका थुप्रै योजनाहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्दै तिनै कार्यहरूले सुशासन र समृद्धिका लागि मार्ग प्रशस्त गरेको दाबी गर्नुभयो।

अध्यक्ष प्रचण्डले बोहोराको प्रयास सराहनीय रहेको भन्दै अभियानमा पूर्ण समर्थन रहने जनाउँदै निरन्तरता दिन शुभकामना समेत दिनुभयो।