
बागलुङ, असार ८
जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ देखि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको १७औँ नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख नरबहादुर पुनले “एक वडा, एक आवासीय माध्यमिक विद्यालय” र “एक विद्यालय, एक करेसाबारी” अभियानसहित हरित विद्यालय कार्यक्रम सुरु गरिने जानकारी दिए।
उनका अनुसार यस कार्यक्रमबाट विद्यार्थीलाई उपयुक्त सिकाइ वातावरण र पोषिलो अर्गानिक खाजा उपलब्ध गराइनेछ। साथै, “पढ्दै कमाउँदै” कार्यक्रममार्फत उद्यमशीलता र उत्पादनसँग विद्यार्थीलाई जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रुपमा प्रयोग गर्ने तयारी पनि गरिएको छ।
कृषि एम्बुलेन्स र किसान परिचयपत्र
नगरपालिकाले किसानको उत्पादन सहजै बजारसम्म पुर्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेको छ। यो एम्बुलेन्सले उत्पादन ढुवानी मात्र होइन, पशुपालनसम्बन्धी सेवा—जस्तै खोप, औषधोपचार र प्राविधिक सल्लाह—समेत किसानको घरदैलोमा पु¥याउनेछ।
यस्तै, नगर क्षेत्रभित्रका सबै किसानलाई सूचीकृत गरी परिचयपत्र वितरण गरिने भएको छ। यो प्रणालीबाट जैमिनीलाई “सबै किसान सूचीकृत पालिका” बनाउने लक्ष्य लिइएको छ।
सुन्तला–केरा विस्तारदेखि मासु निर्यात तयारीसम्म
नगरप्रमुख पुनका अनुसार अघिल्लो वर्ष सञ्चालन गरिएको “सेरा जाऔँ, केरा खाऔँ” अभियानले उत्साहजनक सफलता पाएपछि यस वर्ष सुन्तला र केराका पकेट क्षेत्र विस्तार गरिनेछ।
नगरपालिकाको कृषि नीतिअन्तर्गत:
अण्डा र मासुमा आत्मनिर्भरता
आयात प्रतिस्थापन
उत्पादन–बिक्रीमा आधारित अनुदान
व्यावसायिक गोरु, राँगो र बंगुर पालनमा प्रोत्साहन
चीनसम्म मासु निर्यात गर्ने दीर्घकालीन तयारी रहेको उल्लेख छ।
नगर प्रमुख पुनले बताएअनुसार, पछिल्लो एक दशकदेखि बागलुङमा पाडापाडी, खसीबोका लगायत पशुहरूमा कुनै ठूलो रोग नदेखिएकोले निर्यात सम्भावना थप बलियो भएको छ।
रैथाने बालीमा विशेष ध्यान
पालिकाले स्थानीय मौलिक बालीहरू—सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाङ, आलु, निउरो आदिको उत्पादन वृद्धि, लेबलिङ र प्याकेजिङको नीति पनि अगाडि सारेको छ।
‘जैमिनीकी छोरी’ कार्यक्रमलाई निरन्तरता
“छोरी जन्मे घर, खुसीको लहर” भन्ने मूल नारासहितको ‘जैमिनीकी छोरी’ कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। सो कार्यक्रम अन्तर्गत छोरी जन्म भएपछि नाम दर्ता गराउने परिवारलाई पालिकाले २ हजार रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
समग्रमा हेर्दा जैमिनी नगरपालिकाले शिक्षा, कृषि, उद्यमशीलता र लैङ्गिक समानताको क्षेत्रमा समावेशी र दीर्घकालीन दृष्टिकोणसहित नीति तथा कार्यक्रम अघि सारेको देखिन्छ।













