को हुन् ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ का मनिष राउत ?

-


     हिडन खबर    
     असार ८ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार ८

नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते देशभर प्रदर्शनमा आउँदैछ। चर्चित अभिनेता विजय बरालको प्रमुख भूमिका रहेको यस चलचित्रमा मनिष राउत एसोसिएट डिरेक्टरको रूपमा संलग्न छन्।

मनिष राउत नेपाली सिने जगतमा ‘प्रेमगीत ३’ बाट चिनिएका अभिनेता हुन्। उक्त फिल्ममा उनले प्रदीप खड्कापछि दोस्रो मुख्य भूमिकामा अभिनय गरेका थिए। अभिनयमार्फत लोकप्रियता कमाएका उनले यसपटक भने पर्दामा होइन, पर्दामागाडिको भूमिकामा आफूलाई स्थापित गर्न खोजेका छन्।

जनै हराएको मान्छे’ मा उनले अभिनय गरेका छैनन्। त्यसबारे स्पष्टीकरण दिँदै उनी भन्छन्, “निर्देशन पनि रचनात्मक काम हो। अभिनय गर्दैगर्दा निर्देशनमा पनि अनुभव सँगाल्नुपर्छ भन्ने लाग्यो। अभिनय र निर्देशनलाई सँगै अघि बढाउँदा अझ प्रभावकारी बन्न सकिन्छ।”

सिनेमा पढेका मनिषले अध्ययनकै पृष्ठभूमिबाट फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। आफू पूर्ण निर्देशक नभए पनि निर्देशनको अनुभवले अभिनयमा सघाउ पुग्ने विश्वास उनको छ।

“राम्रा टिम र दमदार कथा भएकाले यो फिल्ममा निर्देशनतर्फको भूमिकामा सहभागी भएँ,” उनी भन्छन्, “यो नयाँ अनुभवले मलाई अझ परिपक्व बनाउँछ भन्ने विश्वास छ।”

उनका अनुसार, भविष्यमा दर्शकले उनलाई पुनः अभिनयमा पनि देख्न सक्नेछन्।

बलियो स्टारकास्ट र अनुभवी टोली

पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय छ।

कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताका रूपमा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

नवीन गुरुङ डीओपी रहेको चलचित्रमा कृष्ण परियारले सिनेमाटोग्राफी गरेका छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत, सहायक निर्देशकहरूमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

चलचित्रमा संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको रहेको छ। वितरणको जिम्मेवारी गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।

पूर्णबहादुरको सारंगी’पछि विजय बरालको बहुप्रतीक्षित फिल्म

अलटाइम ब्लकबस्टर बनेको ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा फर्किएको यो पहिलो चलचित्र हो। विसं २०८१ को नेपाली फिल्म क्षेत्रका लागि यो अर्को उत्कृष्ट उपहार बन्ने अपेक्षा गरिएको छ।

चलचित्रमा विजय र केकीको जोडी ‘सम्बन्धका धागाहरू’ मार्फत नयाँ शैली र कथावस्तुमा देखिने भएकाले दर्शकको उच्च चासो यसप्रति देखिएको छ।