
बागलुङ, असार ६
बागलुङ नगरपालिकाले सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ कार्यक्रम’ अन्तर्गत बागलुङ नगरपालिका–६ मा दुईवटा कृषक समूहलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले पाठा र बोका वितरण गरिएको छ।
एक समारोहबीच सम्पन्न कार्यक्रममा २० वटा पाठा र २ वटा बोका वितरण गरिएका हुन्। वितरण गरिएको पशुधनबाट लाभग्राहीहरूलाई पशुपालनमार्फत स्वरोजगारको अवसर सिर्जना गर्दै आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समारोहमा नगरपालिकाका प्रतिनिधिहरू, वडा अध्यक्ष, प्राविधिक कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बागलुङ नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष रूद्र बहादुर केसी हेफर प्राविधिक कृष्ण प्रसाद शर्माले लगायतका वक्ताहरूले आत्मनिर्भर कार्यक्रमले स्थानिय स्तरमै रोजगार सिर्जना गर्न सक्ने सम्भावना रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
बागलुङ नगरपालिकाकाे ७० प्रतिशत हेफर नेपालकाे ३० प्रतिशत लगानीमा पाठा र बाेका कृषकलाई आत्मनिर्भरताकाे लागि निशुल्क रूपमा वितरण गरिएको बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रूद्र बहादुर केसीले बताउनुभयो ।
बितरण प्राप्त गरेका दुवै समूहका प्रतिनिधिहरूले नगरपालिकाप्रति आभार प्रकट गर्दै पशुपालन व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।













