
काठमाडौं ।
चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ। केही दिनअघि मुख्य कलाकार विजय बरालको लुक्स सार्वजनिक गरिएकोमा आज भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरिएको हो।
भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा, झुस्स दाह्री सहित केही तनावग्रस्त मुद्रामा देखिएका छन्। उनका छोराको भूमिकामा रहेका आरुस भुसाल कपाल मुन्डन, रातो लुगा र पसिनाले भिजेको अवस्थामा झोला बोकेका छन्। उक्त दृश्यले उनी संस्कृत शिक्षा लिएको संकेत गर्छ, जसलाई पृष्ठभूमिका मन्दिरहरूले पुष्टि गर्छन्।
आरुसले भनेका छन्, “यो संसारमा सबैभन्दा महंगो केराको मूल्य बाबाको पसिना रहेछ।” यो संवादले बाबु–छोराबीचको सम्बन्ध झल्काउँछ।
चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका हुन्। प्रमुख भूमिकामा विजय बराल, भोलाराज सापकोटा, आरुस भुसाल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनालीलगायत कलाकार छन्।
‘जनै हराएको मान्छे’ भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। हाल यो पोस्ट–प्रोडक्सन चरणमा छ।
निर्माण टिम
चलचित्र पेपरक्लिपको ब्यानरमा कमल र विमल न्यौपानेद्वारा निर्माण गरिएको हो। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धरलगायत छन्। कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन्।
मनिष राउत असोसियट निर्देशकका रूपमा संलग्न छन्। उनका अनुसार, “फिल्मले बाबु–छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक पाटाहरू उतार्ने प्रयास गरेको छ।”
सिनेम्याटोग्राफीमा नवीन गुरुङ र कृष्ण परियार छन्। संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले दिएका छन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ।
‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टरपछि विजय बराल यस चलचित्रमार्फत पुनः मुख्य भूमिकामा फर्किंदैछन्।
।












