राजधानी जोड्ने धार्के–सीतापाइला सडक वैकल्पिक मार्गको रूपमा अगाडि

-


     हिडन खबर    
     जेठ ३२ गते २०८२ मा प्रकाशित


काठमाडौं, जेठ ३१
देशको राजधानी काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी साधनहरूले दैनिक घण्टौँको ट्राफिक जामको सास्ती खेपिरहँदा, वैकल्पिक मार्गको रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्ड अब प्रयोगमा आउन थालेको छ।

कलंकी–नागढुङ्गा–नौबिसे सडकखण्ड लामो समयदेखि उपत्यकाभित्र आवतजावत गर्ने मुख्य नाका भए पनि ट्राफिक चापका कारण यात्रुहरू अत्यधिक समस्यामा पर्ने गरेका छन्। सोही समस्यालाई मध्यनजर गर्दै निर्माण गरिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौंतर्फको भागमा कालोपत्रे कार्य सम्पन्न भएको छ।

काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो, “कालोपत्रे कार्य सम्पन्न भएसँगै राजधानी प्रवेश वा बाहिरिने सवारीसाधनहरू धार्के–सीतापाइला सडकलाई प्राथमिक मार्गको रूपमा रोज्न थालेका छन्।”

उहाँका अनुसार वैकल्पिक मार्गका रूपमा विकास गरिएको यो सडकले समय र इन्धन दुवैको बचत गर्नुका साथै ट्राफिक चाप न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यस सडक प्रयोगमा आएपछि काठमाडौँ उपत्यका भित्रिने बाहिरिने प्रमुख नाकाहरूमा पर्ने दवाव पनि कम हुने विश्वास निर्माण भइरहेको छ। साथै, स्थानीयवासी र यात्रुहरूका लागि थप सहज यात्रा सुनिश्चित हुने देखिएको छ।