
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलिदेखि श्रद्धालुहरूलाई विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ।
महायज्ञको पूर्णाहुतिपछि नै वितरण गर्ने तयारी भए पनि हवनको तापका कारण भोलि र पर्सिदेखि मात्र वितरण थालिने प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए। साथै हवन कुण्डमा प्रयोग गरिएका इट्टा १ सय रुपैयाँमा र जलसहितका कलश निःशुल्क वितरण भइरहेको छ।
भोलि राष्ट्रिय भजन प्रतियोगितामा विजयी समूहहरूलाई पुरस्कार वितरण गरिनेछ। देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम, माछापुच्छे सेवा समाज द्वितीय र बालन तथा कला संस्कृति संरक्षण प्रतिष्ठान तृतीय भएका छन्। अन्य १२ विधामा उत्कृष्ट भएका समूहहरूलाई पनि सम्मान गरिनेछ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ लाख ५५ हजार ५५५, २ लाख ५५ हजार ५५५ र १ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार दिइनेछ। सान्त्वना पुरस्कार ६५ हजार र अन्य विधागत पुरस्कार २५ हजार ५२५ रुपैयाँ तोकिएको छ।
महायज्ञ अन्तर्गत ५ सय २५ जनाको सामूहिक व्रतबन्ध, तुलादान, चौरासी पूजा, नवग्रह शान्ति, कालसर्प योग पूजा, अष्ट महादान, अति रुद्री लगायत विविध धार्मिक क्रियाकलाप सम्पन्न भएका छन्।
यस अवसरमा विभिन्न व्यक्तित्व तथा संघसंस्थाबाट आर्थिक सहयोग प्राप्त भएको छ। कार्यक्रममा चर्चित कलाकार चक्र बम र सुमन थापा मगरले भजन प्रस्तुति दिएका थिए।
कोटिहोमका वरिष्ठ उद्घोषक कोष भारद्वाजको जन्मदिनको अवसरमा महायज्ञ संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले शुभकामना दिएका थिए। महायज्ञ जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।












