
काठमाडौं, हिड्नखबर – पछिल्लो समय नेपाली दर्शकको प्राथमिकता भावनात्मक (इमोशनल) सिनेमातर्फ मोडिएको देखिन्छ। यदि कसैले सोध्यो, “आजभोलि दर्शकलाई कस्तो सिनेमा मन पर्छ?” भने धेरैको जवाफ हुन्छ— भावना मिसिएको, जीवनसँग गाँसिएको सिनेमा। उदाहरणका रूपमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’जस्ता चलचित्र उल्लेख गर्न सकिन्छ।
कमेडीबाट भावनात्मक कथावस्तुतर्फ सरेका दर्शकको यही मोहलाई ध्यानमा राख्दै, निर्देशक हिमाल न्यौपानेले ल्याउँदै छन्— ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’।

निर्देशक न्यौपाने भन्छन्, “हाम्रो सिनेमाको घोषणा भिडियोदेखि हालसालै सार्वजनिक भएको गीतसम्म हेर्दा स्पष्ट बुझिन्छ— यो फिल्मले आम नेपालीले भोगेका समस्या उठाउनेछ।” उनका अनुसार, आमालाई अत्यधिक माया गर्ने छोराले आमालाई खुसी बनाउने संघर्ष, अनि त्यो क्रममा समाजसँग भिडिरहेको दृश्य प्रस्तुत गरिएको छ।
आर्थिक अभावसँग जुधिरहेको निम्न र मध्यम वर्गीय परिवारका प्रतिनिधि पात्रहरूमार्फत कथावस्तु अघि बढ्नेछ। रुमानी कल्पना होइन, यथार्थ जीवनका तिता–मिठा अनुभवलाई पर्दामा उतार्ने उद्देश्यले यो सिनेमा निर्माण गरिएको निर्देशकको भनाइ छ।
भदौ ६ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन्। निर्माण पक्षले उनलाई ‘एपिक नेचुरल स्टार’को संज्ञा दिएको छ।
छायांकन सकिएको चलचित्र अहिले पोस्टप्रोडक्सन चरणमा पुगेको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा यसको छायांकन गरिएको हो।
चलचित्रका असोसिएट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्।

बलियो कलाकारहरूको लाइनअप रहेको चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ।
पेपरक्लिप ब्यानर अन्तर्गत निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र बिमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिम्सिना, र चुडामणि सिवाकोटी रहेका छन्।
चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत छ भने नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमाटोग्राफर रहेका छन्।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक हुन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकका रूपमा रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
चलचित्रको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ।
‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ब्लकबस्टर चलचित्रपछि विजय बराल पुनः मुख्य भूमिकामा देखा पर्न लागेका छन्। उनीसँगै केकी अधिकारी पनि मुख्य भूमिकामा देखिने भएकाले यो चलचित्रलाई विसं. २०८१ को बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।
🎬 ट्रेलर हेर्नुहोस्: https://www.youtube.com/watch?v=OZQdtBZVEh8












