
पोखरा, हिड्नखबर – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजसम्म ८ हजारभन्दा बढी जलसहितका कलश भक्तजनलाई वितरण गरिएको छ।
महायज्ञ प्रचार-प्रसार संयोजक लेखराज ढकालका अनुसार, गत सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएपछि कलश वितरण गरिएको हो। केही जलसहितका कलश अझै बाँकी रहेकाले इच्छुक भक्तजनले सचिवालयमा सम्पर्क गरी लैजान सक्नेछन्।
उनका अनुसार अधिकांश भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने केहीले हवन समापनपछि शुल्क तिरेर कलश लगेका हुन्। एक थान कलशको मूल्य १,३०० रुपैयाँ रहेको छ भने दुईवटा लिएमा २,५०० रुपैयाँ लाग्नेछ।
यसअघि कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो।
यज्ञको पूर्णाहुतिसँगै भष्म र तिलक वितरण गर्ने भनिए पनि लामो समयको होमका कारण अत्यधिक तातो भएका कारण तत्काल वितरण गर्न नसकिएको संयोजक ढकालले बताए। अब जेठ ३१ गते इट्टा, भष्म, तिलकसहित प्रसाद वितरण गरिने जानकारी उनले दिए।
भक्तजनले १०० रुपैयाँ तिरेर हवन कुण्डमा राखिएका इट्टा समेत घर लैजाने व्यवस्था गरिएको छ।
आजको कार्यक्रमको क्रममा भागवत मञ्जरी राधिका दासीले भक्तजनलाई प्रसाद वितरण गरेकी थिइन्। महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्ति महाराजले जेठ ३१ गतेसम्म चल्ने प्रवचनात्मक कार्यक्रमको अवसरमा विश्वविख्यात वाचकहरूबाट अमृततुल्य कथा श्रवण गर्न सबैलाई आग्रह गरे।
सोमबार चर्चित धर्मगुरु कालिदास बाबा (काली बाबा) द्वारा सम्पन्न पूर्णाहुतिसँगै कोटिहोमको विधिवत् समापन गरिएको महायज्ञ निर्देशक शङ्कर खरालले जानकारी दिए। त्यस्तै, फूलपाती विसर्जन, भगवान मुक्तिनाथको पूजा–अर्चना, र अनुष्ठान पक्षसमेत सम्पन्न भएको उनले बताए।
फूलपाती विसर्जन कार्यक्रममा यज्ञका आचार्य मण्डल, कर्ता सदस्यहरू, घोरपझोङ गाउँपालिका (मुस्ताङ) प्रमुख मोहनसिंह लालचन, मुक्तिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, कागबेनी र मुक्तिनाथ धार्मिक समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आजै, प्रमुख आचार्य लक्ष्मण भण्डारीले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्ति महाराजलाई बौद्धिक मन्त्र जपसहित हवन प्रसादस्वरूप माला अर्पण गरे। उनले भने, “४ सय व्राह्मणलाई एउटै स्थानमा एउटै आचरणमा राख्नु असम्भवजस्तै काम हो, तर यो यज्ञले सम्भव बनायो।”
कोटिहोमका आचार्य ब्राह्मण, सहयोगी संस्था, भजन समूह र वाद्यवादन समूहलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो।
मानव सेवा फाउन्डेसनले महायज्ञ अवधिभर मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। छुटेका भक्तजनले पनि सचिवालयमा सम्पर्क गरी फाउन्डेसनमार्फत सेवा तथा सहयोगमा सहभागी हुन सक्ने जानकारी व्यवस्थापक विष्णु थापाले दिए।
श्रीमद्भागवत कथावाचन जेठ १७ गतेदेखि भागवत मञ्जरी राधिका दासीद्वारा सञ्चालन हुँदै आएको छ। कथा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा तथा आसपासका क्षेत्रहरूमा कोटिहोम सञ्चालन भइरहेको छ।










