
पोखरा, हिड्न खबर — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनहरूले आजदेखि जलसहितको कलश लैजान थालेका छन्।
सोमबार यज्ञको पूर्णाहुतिपछि महायज्ञस्थलमा राखिएको जलसहितको कलश भक्तजनहरूले घर लैजान थालेका हुन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार हालसम्म ५ हजारभन्दा बढी कलश बुकिङ भइसकेका छन्। धेरै भक्तजनले पूर्वमै कलश बुकिङ गरेका थिए भने केहीले आजै रकम तिरेर कलश प्राप्त गरेका छन्।
गत वैशाख १६ गते गंगाजलसहितको विशाल शोभायात्रा निकालेर महायज्ञस्थलमा कलश स्थापना गरिएको थियो। कलश यात्रा संयोजक दुर्गा कसीका अनुसार विधिपूर्वक पूजा सम्पन्न भएपछि जलसहितको कलश भक्तजनलाई वितरण गरिँदैछ। एकवटा कलशको शुल्क १ हजार ३ सय रुपैयाँ तोकिएको छ भने दुईवटा कलश एकसाथ लिँदा २ हजार ५ सय रुपैयाँ लाग्नेछ।
आज कोटिहोममा जलसहितको कलश लैजान भक्तजनको उल्लेख्य भीड देखिएको थियो। महायज्ञ अन्तर्गत ११ हजार शोभा कलशको यात्रा गरिएको थियो।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सहभागी भक्तजनलाई प्रसादस्वरूप नरिवल र स्याउ वितरण गरेका थिए। उनका अनुसार महायज्ञको समापन हुने जेठ ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिनेछ।
महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार पूर्णाहुतिसँगै आजैदेखि भष्म र तिलक वितरण गर्ने तयारी भए पनि हवनकुण्डको अत्यधिक तापका कारण भष्म र तिलक वितरण भोलिदेखि मात्रै सुरु गरिनेछ। यस्तै, १ सय रुपैयाँ तिरेर हवनकुण्डमा राखिएका इँटा घर लैजाने सुविधा पनि उपलब्ध गराइएको छ।
कोटिहोममा विभिन्न भक्तजनहरूले आर्थिक सहयोग गरेका छन्। पोखरा–३३ का मधवप्रसाद कडेल र अन्जु कुमारी कडेलले २५ हजार ५ सय ५५, पोखरा–१७ का सूर्यप्रसाद पौडेल र विष्णुकुमारी पौडेलले २५ हजार १ सय २५, पोखरा–८ का सकुन्तला, राजकुमार र समीक्षा गिरीले १५ हजार १ सय ५, र पोखरा–१४ की सङ्गीता थापाले ७ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेका छन्।
महायज्ञ अन्तर्गत जारी रक्तदान कार्यक्रममा हालसम्म ८ सय ८ जनाले रक्तदान गरिसकेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिए। वैशाख २० गतेदेखि सुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।
कोटिहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भइरहेको छ। महायज्ञ जेठ ३१ गतेसम्म जारी रहनेछ।













