
काठमाडौं —जेठ २७
चलचित्र ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि टिमले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेको हो। यस चलचित्रमा दयाहाङ र प्रकाश पहिलो पटक एकसाथ देखिने भएका छन्।
चलचित्रका निर्देशक यम शेर्पाका अनुसार अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी छ। “हामी हाल कलाकारहरूसँग अन्तिम छलफलमा छौं,” उनले भने, “बजारले रुचाएका र अभिनयमा निपुण कलाकारहरूलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्दैछौं।”
अहिलेसम्म प्रकाश सपूतले अभिनयको मात्र भूमिका निर्वाह गर्ने पक्का भएको छ भने, संगीतको पक्षमा उनको संलग्नताबारे पछि खुलाउने निर्देशक शेर्पाले जनाए।
‘मिरमिरे’ यम शेर्पाको दोस्रो निर्देशन हो। यसअघि ‘कार्साङ’ निर्देशन गरेका शेर्पाले नयाँ फिल्ममा प्राविधिक पक्ष र कलाकारको संयोजन मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रकाश सपूतले चलचित्रमा जोडिन पाउँदा उत्साह व्यक्त गर्दै यो भूमिका आफूका लागि विशेष हुने विश्वास व्यक्त गरेका छन्। “यस फिल्मले मलाई नयाँ उचाइ दिन्छ भन्ने अपेक्षा छ,” उनले भने।
ग्रामीण जीवनको कथा
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्र ‘मिरमिरे’ ले ग्रामीण परिवेशमा आधारित सामाजिक कथा प्रस्तुत गर्नेछ। फिल्मको कथा तथा निर्देशन दुवै यम शेर्पाले गरेका हुन्।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।
‘मिरमिरे’ सन् २०२५ (वि.सं. २०८२) भित्र प्रदर्शन हुने तयारीमा रहेको छ। फिल्मको आधिकारिक प्रदर्शन मिति भने अझै तय भइसकेको छैन। यस चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।









